समाज

चोरी घटनामा १ सय ३१ जना कारागार चलान

सुभाष कर्ण |
जेठ १८, २०८० बिहीबार १८:३ बजे

जनकपुरधाम- चोरी घटनामा संलग्न रहेको आरोपमा धनुषाबाट १ सय ३१ जनालाई कारागार चलान गरिएको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न मितिमा पक्राउ परेका १३ जनालाई सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०७९/८० मा हालसम्म १० महिनाको अवधिमा चोरी घटना मुद्दा र चोरी घटनामा पक्राउ परे पनि अभद्र व्यवहार दर्ता भएका मुद्दामा गरी १ सय ३१ जनालाई कारागार पठाएकाे हाे ।

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका चोरी आरोपमा पक्राउ परेकाहरू सुनका गरगहना, मोटरसाइकल, साइकल र मोबाइल चोरी घटनामा संलग्न रहेको जिप्रका प्रमुख एसी विश्वराज खड्काले जानकारी दिए । उनले भने, 'जिल्ला प्रहरी कार्यालय धनुषाले परिचालन गरेको २५ सदस्यीय टोलीको सहयोगमा पक्राउ गरिएको हो ।'


उनले जेठ १० गतेसम्म चोरी आरोपमा पक्राउ परेका मध्ये एक जना धरौटीमा छुटेको, ३ जना कारागार चलान भएको जानकारी दिँदै बाँकी २३ जनासहित हाल पक्राउ परेका १३ गरी ३६ जना अनुसन्धानका क्रममा रहेको जानकारी समेत दिए । साथै विभिन्न मितिमा बरामद गरिएका १३ वटा मोटरसाइकल सार्वजनिक गरियो । एसपी खड्काले बरामद गरिएका मोटरसाइकल प्रमाणसहित आएमा मोटरसाइकल धनीलाई बुझाइने बताए ।

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ७ सय फरार प्रतिवादीलाई पक्राउ गरी ६७ लाखभन्दा बढी रकम जरिवाना र साढे ७ करोड रुपैयाँ भन्सार चोरी निकासीबाट बरामद गरिएका सामानबाट राजश्व संकलन गरिएको उनले बताए ।

धनुषामा चालु आ.व.मा हालसम्म ४ सय ३८ वटा चोरी घटना भएकोमा ९९ वटा चोरी घटना मुद्दा दर्ता भएको र पीडितले जाहेरी दिन नमानेपछि चोरी घटनालाई अभद्र व्यवहार मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको एसपी खड्काले जानकारी दिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x