समाज

आध्यात्मिक सम्मेलनको तयारी पूरा, बाबा रामदेव सहभागी हुने सम्मेलनको प्रधानमन्त्रीले उद्घाटन गर्ने

दीपक उपाध्याय |
जेठ २२, २०८० सोमवार ८:४३ बजे

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तडमा भोलिदेखि आयोजना हुने आध्यात्मिक सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । जेठ २३ देखि २५ गतेसम्म आयोजना हुने सम्मेलनको व्यवस्थापनदेखि अन्य तयारीका कामहरूलाई तीव्र पारिएको आयोजक समिति सदस्य एवं खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी प्रमुख भीमबहादुर खड्काले जानकारी दिए । 

भूस्वर्गका नामले परिचित खप्तड क्षेत्रको महिमा र सम्भावनाको उजागर गर्न अन्तर्राष्ट्रिय स्तरको सम्मेलन आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।


आध्यात्मिक सम्मेलनको मञ्च व्यवस्थापन, टेण्ट ढुवानी, शौचालय तथा खानेपानीको व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको बताउँदै  कार्यकारी प्रमुख खड्काले खाद्यान्न ढुवानीदेखि कार्यक्रम आयोजना स्टल निर्माण अन्तिम चरणमा पुगेको बताए । 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वयम सेवक र खप्तडसँग जोडिएका सबै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी यतिबेला कार्यक्रम स्थलमा खटिएका छन् । 

खप्तडसँग सीमा जोडिएका डोटी, अछाम, बाजुरा र बझाङ जिल्लाका स्थानीय पालिकाहरुले शौचालय निर्माण, विश्रामस्थल, खानेपानी लगायतका अत्यावश्यक पूर्वाधारको तयारी गरेका छन् । 

आध्यात्मिक सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेव, पतञ्जली योगपीठका महामन्त्री बालकृष्ण आचार्य, संघीय र प्रदेश सरकारका मन्त्रीहरू, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्व लगायत सम्मेलनमा सहभागी हुनेछन् । बालकृष्ण आचार्य यतिबेला खप्तड पुग्दैछन् भने बाबा रामदेव भोलि महेन्द्रनगरबाट नेपाली सेनाको हेलिकप्टर मार्फत खप्तड पुग्ने आयोजकले जानकारी दिएको छ । 

सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

आध्यात्मिक सम्मेलनका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा ४०१ सदस्यीय मूल तयारी समितिसमेत गठन गरिएको छ । 

सम्मेलनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खप्तडको प्राकृतिक सौन्दर्यता, आध्यात्मिक, योग, ध्यान र साधनाको महत्वलाई चिनाउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । 

सुदूरपश्चिम प्रदेश सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समिति, तथा स्थानीय पालिकाको आयोजनामा हुन लागेको सम्मेलनमा करिब तीन करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

खप्तडलाई २०४३ सालमा राष्ट्रिय निकुञ्जका रूपमा घोषणा गरिएको थियो । त्यसयता खप्तड घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु बर्सेनि बढ्दै गएपनी पुर्वाधार कमिका कारण पर्यटकहरुले खप्तडमा सास्ती भोग्दै आएका छन । 

सम्मेलनले सुदूरपश्चिम प्रदेशको सम्भावनाको पहिचान गर्न, धार्मिक पर्यटनलाई सुदूरको अर्थतन्त्रसँग जोड्न र पर्यटकीय गन्तव्यको प्रमुख केन्द्र बनाएर बडीमालिका, रारा, बूढीनन्दा, मानसरोवरलाई समेत जोडेर लैजाने बिश्वास लिएको मुख्यमन्त्री शाहले बताए ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x