समाज

जब खुसीले ‘खुसी’ का आँसु झारिन्

इकागज |
जेठ २५, २०८० बिहिवार २१:४१ बजे

महोत्तरी- 'ओह...हम कत्त छी ?' (ए, म कहाँ छु ?) सर्पको डसाइले छ दिनपछि होस खुलेकी महोत्तरीको गौशाला–१ रामनगरकी नौ (९) वर्षीया खुसी महतोले जनसेवा अस्पताल बर्दिवास–३ को भेन्टिलेटर कक्षबाट आइसियु कक्षमा सारिँदै गर्दा आश्चर्य भावमा भनिन् । गत शनिबार बिहान घरमा खेल्दै गर्दा विषालु सर्प गोमनको डसाइबाट अचेत भएकी खुसीको अस्पतालको भेन्टिलेटर कक्षमा लगातार छ दिनको सघन उपचारपछि आज होस खुलेको हो ।

सर्पले डसेदेखि अचेत भएकी खुसीले आफू अस्पताल ल्याइएको र उपचारले ठीक भएको अब थाहा पाएकी छन् । 'हम ठीक भगेली' (म ठीक भइसकें) उनले आँसु झार्दै गर्दा पनि थोरै मुस्कान दिँदै भनिन्, 'आब घर जबै' (अब घर जानेछु) । खुसीलाई शनिबार बिहान घर आँगनमा खेलिरहेका बेला अति विषालु गोमन सर्पले देब्रे गोडाको तल्लो भाग पैतालामाथि लगातार दुईपटक डसेको थियो । डसेको १५ मिनटभित्रै बर्दिवास–३ स्थित सर्पदंश उपचार केन्द्र पुर्याइएकी उनलाई लगत्तै भेन्टिलेटरको सघन उपचार दिन थालिएको थियो ।   


गोमनले डसेर अचेत भएकी खुसीको भेन्टिलेटरमा पाँच दिनको सघन उपचारले  हिजो साँझ होस फिरेपछि उनी स्वयं, परिवारजन मात्र नभई सर्पदंश उपचार केन्द्र बर्दिवास–३ गौरीडाँडाका प्राविधिक एवं जनसेवा अस्पतालका चिकित्सक र सञ्चालक पनि दङ्ग छन् । 'भाञ्जीले नयाँ जीवन पाइन्,' खुसीलाई सर्पले डसेदेखि उनको उपचारमा पारिवारिक दायित्व बोक्दै आएका मामा शिवनारायण महतोले भने । 

संयोग नै भन्नपर्छ, जनसेवा अस्पतालले भेन्टिलेटर कक्ष सञ्चालनमा ल्याएलगत्तै त्यसको पहिलो सेवा खुसीले पाएकी हुन् । 'हामीले भर्खरै सेवा सुरु गरेका हौँ, भेन्टिलेटर कक्षको सेवा लिने पहिलो बिरामी नै खुसी हुन् , उनी होसमा फिरेसँगै आफूले थालेको नयाँ सेवाबारे भरोसा जागेको छ,' जनसेवा अस्पताल सञ्चालक सुमन भुजेल भन्छन्, 'अब आफ्नो काम सेवामा दरिन्छ भन्ने विश्वास जागेको छ ।'

सर्पदंश उपचार केन्द्र बर्दिबासले रेफर गरेका बिरामी फिरेका यो दुर्लभ घटना हो । 'केन्द्रमा गम्भीर अवस्थामा ल्याइएका बिरामीलाई भ्यान्टिलेटरको सघन उपचार आवश्यक पर्छ, त्यसका लागि रेफर गर्नै पर्छ, हामीले पनि त्यो गर्दै आएका छौँ,' केन्द्रमा सर्पदंश उपचारमा खटिएको नेपाली सेनाको प्राविधिक टोलीका प्रमुख उत्तम कटुवाल भन्छन्, 'खुसीलाई रेफर गरिएको केही मिनटभित्रै भेन्टिलेटरको सघन उपचार सुरु हुनसक्यो, उनले नयाँ जीवन पाइन् ।' केन्द्रबाट १०० मिटरभित्रै साधन सम्पन्न अस्पताल भएको हुँदा तुरुन्त सघन उपचार सम्भव भएपछि यो सुखद परिणाम पाइएको कटुवाल बताउँछन् । 

सर्पदंशका गम्भीर अवस्थाका बिरामी तत्काल भेन्टिलेटरको सघन उपचार दिन नपाएरै मृत्यु हुने गरेको विगत अब हट्ने बर्दिबास क्षेत्रमा आश जागेको छ । खुसीलाई सर्पले डसेको १५ मिनटभित्र मामाले केन्द्रमा ल्याई पुर्याएका र लगत्तै भेन्टिलेटरमा लगिएको थियो । 'उनलाई (खुसीलाई) शनिबार बिहान पउने नौ बजे सर्पले डसेछ, १५ मिनटमा उनी केन्द्रमा ल्याइनन् , नाजुक अवस्थाकी उनलाई तत्कालै रेफर गरिएर भेन्टिलेटरमा पुर्याइयो, उनी फिरिन्' सर्पदंश उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष कृष्ण देवकोटा भन्छन्, 'हामीले रेफर गरेका बिरामी फिरेका यो दुर्लभ घटना हो ।'

केन्द्रसँगै जोडिएको अस्पतालमा सुरु भएको नयाँ सेवाले खुसीले नयाँ जीवन पाएकी देवकोटा बताउँछन् । मुख्यत: सर्पले डसेका गम्भीर प्रकृतिका बिरामीका लागि आवश्यक पर्ने भेन्टिलेटरको सघन उपचार समयमा नपाएर बिरामीको मृत्यु हुने गरेको उनको भनाइ छ । 

यसैबीच केन्द्र नजिकै अत्याधुनिक भेन्टिलेटर र आइसियु कक्ष सञ्चालनमा आएसँगै अब सर्पदंशबाट हुने मानवीय क्षति हुनै नदिन थप चासो बढेको छ । यसका लागि केन्द्रलाई अति आवश्यक उपकरण र सामग्री थप्ने काममा रेडक्रस सोसाइटी बर्दिवास उपशाखाको अग्रसरतामा विभिन्न सामाजिक सङ्घसंस्थाले पहल कदमी बढाएका छन् ।

'हामीले केन्द्रलाई साधन सम्पन्न बनाउन भर्खरै (बुधबार) भ्याक्सिन फ्रिज (एन्टी स्नेक भेनम सुई सुरक्षित भण्डारण गर्ने फ्रिज), पोर्टेबल भेन्टिलेटर (सिकिस्त बिरामीलाई तत्काल सघन उपचार गर्दै अस्पताल पुर्याइन प्रयोग गरिने भेन्टिलेटर), ओक्सिलेटर र भेनम ओसार्न प्रयोग गरिने सुरक्षित आधुनिक बाकससहितका सामग्री हस्तान्तरण गरेका छौँ,' रेडक्रस बर्दिवास उपशाखाका सभापति रेवन्त कार्की ‘सुदीप’ भन्छन्, 'हामीले केन्द्रलाई सहयोगको अपिल गर्यौँ, बर्दिवास हेल्प फाउण्डेशनका साथीले अभियान नै सञ्चालन गरेर सङ्कलित रकम हामीलाई दिनुभयो ।,' त्यसैगरी बर्दिवास नगरपालिकाको स्वास्थ्य शाखाले पनि सहयोग गर्यो ।' मानवीय सेवाका क्षेत्रमा हात फैलाएपछि सहयोग जुट्दो रहेछ भन्ने दृष्टान्त पनि मिलेको उनको भनाइ छ । 

भेन्टिलेटरको सघन उपचारले खुसी फिरेपछि अब गम्भीर प्रकृतिका बिरामीको उपचार यहाँ सम्भव छ भन्ने विश्वास सबैमा जाग्ने नगरप्रमुख प्रल्हाद क्षत्री बताउँछन् । अब बर्दिवास अस्पताललाई पनि स्तरोन्नति गराउँदै लगिने र चाँडै भेन्टिलेटरसहितको सेवा सञ्चालन गरिने क्षत्रीको भनाइ छ । 'अब हाम्रो सरकारी अस्पताल (बर्दिवास अस्पताल) लाई पनि साधन सम्पन्न बनाइने छ,' क्षत्रीले भने, 'साधन सम्पन्न अस्पताल जति थपिन्छन्, आम सर्वसाधारणको स्वास्थ्य सेवा पहुँच उत्तिकै बढ्दै जानेछ ।' 

‘सर्पको खानी’ भनिने बर्दिवास नगरक्षेत्रमा बर्सेनि विषालु सर्पको डसाइले मानवीय क्षति हुँदै आएको छ । पछिल्लो पटक आफ्नै नगरका अस्पतालमा अत्याधुनिक सुविधायुक्त सेवा बढ्दै गएपछि अब उपचार नै नपाएर मर्नु पर्दैन भन्ने बर्दिबासवासीमा आश जागेको छ । रासस


Author

थप समाचार
x