समाज

(फोटोफिचर)

काठमाडौँका सडकमा ‘नेपाल गौरव यात्रा’

अनुज बज्राचार्य |
जेठ २७, २०८० शनिवार १७:३९ बजे

काठमाडौँ- काठमाडौँमा पाँचौँ 'नेपाल गौरव यात्रा' मनाइएको छ । शनिबार रत्नपार्कदेखि नक्सालसम्म र्याली निकाल्दै 'नेपाल गौरव यात्रा' मनाइएकाे हाे ।


विश्वभर जुन महिनालाई गौरव महिना (प्राइड मन्थ)का रूपमा मनाइन्छ । २०औं शताब्दीको ६०औँ दशकमा भएको स्टोनवाल विद्रोहको स्मृतिमा यस महिनालाई गौरव महिना घोषणा गरिएको हो । यही क्रममा नेपालमा पनि पाँचौँ पटक गौरव यात्रा निकालिएको हो ।

यस महिनामा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूसम्बन्धी विश्वव्यापी विभिन्न कार्यक्रम सञ्चालन हुने गर्छ । गौरवको महिनाको अवसरमा मनाइने उत्सव गौरव यात्रा (प्राइड परेड) हो । सीमान्तकृत यौन अभिमुखीकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूप्रति हुने सामाजिक लान्छनालाई तोडेर पहिचानमा गौरव गर्ने सन्देश लिएर विश्वभरी नै गौरव यात्रा आयोजना हुने गर्छ । यो एउटा उत्सवजनक र्याली हो ।

नेपालमा गौरव यात्रा

नेपालमा ०७६ सालदेखि गौरव यात्रा मनाउन थालिएको हो । नेपालमा कुनै छुट्टै मितिमा गौरव दिवस (प्राइड डे) अस्तित्वमा नरहेकाले सिमान्तकृत यौन अभिमुखीकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूसम्बन्धी सार्वजनिक कार्यक्रम र उपस्थिति वृद्धि हुने हेतुले गौरव यात्रा मनाउन थालिएको हो । स्टोनवाल विद्रोहको ५०औँ स्मरण दिवसको भोलिपल्ट नेपालमा पहिलो पटक गौरव यात्राको आयोजना भएको थियो । त्यसपछि जून महिनाको दोस्रो शनिबार प्रत्येक वर्ष गौरव यात्रा आयोजना गर्ने निर्णय भयो ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x