चालकले नै लागूऔषध सेवन गर्न थालेपछि रूपन्देही ट्राफिकको लापसे परीक्षण
भैरहवा- चालक नै लागूऔषध सेवन गरेको भन्ने जनगुनासो बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीले सडकमै लागूऔषध सेवनकर्ताको चेकजाँच गर्न सुरु गरेको छ ।
सीमावर्ती क्षेत्रमा खुला रूपमा पाइने लागूऔषधको सेवन गरी सवारी चलाउँदा ज्यान नै जोखिममा हुने गरेको भन्दै सडक सुरक्षा अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बेलहिया र लागूऔषध नियन्त्रण ब्युरोको सहकार्यमा चालकहरूले लागूऔषध सेवन (लापसे)गरे/नगरेको परीक्षण गरिएको हो ।
पश्चिमाञ्चल ट्रक यातायात व्यवसायी समितिको सहयोगमा प्राप्त भएको रेपिड मल्टी ड्रग टेष्टडिपकार्ड (किट) मार्फत चालकले विभिन्न ६ प्रकारको लागूऔषध सेवन गरे नगरेको परीक्षण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी निरीक्षक साकारराज पन्तले बताए । 'प्रहरी सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत नै सीमावर्ती क्षेत्र बेलहियाबाट छुट्ने गाडीहरूको चालकको परीक्षण गरेका छौं, आकस्मिक रूपमा बेला बेलामा विभिन्न ठाउँमा यो परीक्षण गर्ने गरेका छौं,' उनले भने ।
उनका अनुसार जनगुनासो बढेपछि डण्डा खोला नजिकै संयुक्त टिमले परीक्षण गरेको हो । बेलहिया तर्फबाट आउने अधिकांश चालकहरूको परीक्षण गरेकाे र केही शंकास्पद देखिएपछि किट मार्फत परीक्षण गरिएको उनले बताए । परीक्षण गरिएको ११ जनामध्ये ३ जनाले लागूऔषध सेवन गरेको पाइएको ट्राफिक प्रमुख पन्तले बताए ।
ट्राफिक प्रहरीले अहिले परीक्षण गर्ने किटले ६ प्रकारको लागूऔषध प्रयोग गरेको हो वा हैन भन्ने पुष्टि गर्छ । गाँजा, कोकिन, ब्राउनसुगर, डाइजेपाम, एम्फेटामाइन र बार्विटुरेट्स समूहको लागूऔषध प्रयोग गरेको छ भनि किट मार्फत अन द स्पट चेक हुने छ । किट केही खर्चिलो भएकोले यो अभियानलाई निरन्तर गर्न नसके पनि बेलाबेलामा भएको सीमित किट मार्फत छड्के परीक्षण गर्ने गरेको कार्यालयले जानकारी दिएको छ ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए पनि पछिल्लो समय लागूऔषध सेवन गरेर सवारी साधन चलाउने चालक भेटिन थालेपछि लागूऔषध जाँच अभियानलाई कार्यालयले तीव्रता दिइएको छ । एक साताअघि पनि रूपन्देहीबाट चेकजाँचकै क्रममा ३ जना चालकले लागूऔषध सेवन गरी सवारी साधन चलाएको पाइएपछि कारबाही गरेको थियो ।
कारबाहीमा पर्ने डरले सीमा क्षेत्रबाट चल्ने सवारी साधनका चालकहरू सचेत हुँदै गए पनि पूर्ण रूपमा रोक्न सकिएको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया