काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनहरु नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्ने निर्देशनको विरोध
फाइल फोटो
काठमाडौँ - यातायात क्षेत्रका विभिन्न संगठन र व्यवसायीहरुले असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधनहरु गोंगबुस्थित् नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्ने निर्देशनको विरोध गरेका छन् ।
यातायात व्यवसायी र विभिन्न संगठनहरुले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महानगरको उक्त निर्णयको विरोध गरेका छन् । यातायात व्यवसायीहरुले महानगरको उक्त निर्णय अव्यवहारिक भएको भन्दै सच्याउनसमेत माग गरेका छन् ।
यातायात व्यवसायी र विभिन्न संगठनहरुले महानगरको उक्त निर्णयले यात्रुलाई असुविधा हुने, काठमाडौंमा ट्राफिक समस्या बढ्ने, यातायात व्यवसायीलाई सास्ती हुने र श्रमिकहरुको रोजीरोटी खोसिने भन्दै निर्णय पुनरावलोकन गर्न महानगरसँग माग गरेका छन् । महानगरले निर्णय नसच्याएको खण्डमा सडक आन्दोलन गर्नेसमेत उनीहरुको चेतावनी छ ।
महानगरले निर्णयमा पुनरावलोकन गर्नुको विकल्प नरहेको यातायात व्यवसायीहरुको भनाई छ । पूर्व अरनिको यातायात प्रा.लि. का अध्यक्ष केदार क्षेत्रीले यातायात क्षेत्र व्यवस्थापनमा कमजोरी रहेपनि अहिले नै यो निर्णय कार्यान्वयनका लागि चुनौति रहेको बताए । उनले महानगरले परिवर्तनको नाममा सुनियोजित रुपमा यातायात व्यवसायी र यात्रुलाई मर्का पर्नेगरी निर्णय गरेको आरोप लगाए ।
त्यसैगरी नेपाल यातायात मजदुर संगठनका केन्द्रीय महासचिव जगन्नाथ गौतमले राज्यको लगानीबाट चल्नुपर्ने यातायात क्षेत्रमा निजी क्षेत्रले लगानी गरेर सरकारलाई सहयोग गर्दापनि यातायात व्यवसायीविरुद्ध महानगरले क्रुर निर्णय लादेको आरोप लगाए । काठमाडौं महानगरपालिकाले आगामी असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधनहरु गोंगबुस्थित् नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्न निर्देशन जारी गरेको छ ।
लामो, मध्यम र छोटो दुरीका सम्पूर्ण सवारीसाधनमा यात्रु चढ्न र ओराल्न नयाँ बसपार्कमै पुर्याउनुपर्ने महानगरको निर्देशन छ । महानगरले विभिन्न ठाउँमा छरिएर रहेका टिकट बुकिङ काउन्टरसमेत बसपार्कभित्र नै लैजान भनेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया