समाज

चितवन प्रहरीको हिरासतमा रहेकालाई पुस्तक

इकागज |
असार ५, २०८० मंगलबार ८:४१ बजे

भरतपुर । जिल्ला प्रहरी कार्यालय भरतपुरको हिरासतमा रहेका बन्दीहरूलाई लक्षित गरेर पुस्तक उपलब्ध गराइएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन शाखाको आयोजनामा जिल्ला प्रहरी कार्यालय भरतपुरमा सोमबार बिहान गरिएको कार्यक्रममा चितवन शाखा अध्यक्ष परमेश आचार्यले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई पुस्तक उपलब्ध गराएका हुन् ।

व्यावसायिक उत्तरदायित्व अन्तर्गत रहेर चितवनका पुस्तक व्यवसायी साथीहरूले हिरासतमा रहेका बन्दीहरूलाई लक्षित गरेर पुस्तक उपलब्ध गराएकोमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले खुसी व्यक्त गरे । हिरासतमा रहेका बन्दीलाई पुस्तक, पत्रपत्रिका दिइनु राम्रो पक्ष भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए ।


नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रीय प्रथम उपाध्यक्ष किरणकुमार खनालले हिरासतमा रहेका बन्दीहरूको आनीबानीमा सुधार आओस् र हिरासतमा बसुन्जेल समय व्यवस्थापनमा सहजीकरण होस् भनेर पुस्तक उपलब्ध गराइएको बताए । जिल्ला अध्यक्ष परमेश आचार्यका अनुसार हिरासतमा पुस्तक कार्यक्रम महासंघको नियमित कार्यक्रम हो । `हामीले जिल्ला प्रहरी कार्यालयलाई यसअघि पनि पुस्तक उपलब्ध गराएका छौँ, हामीले उपलब्ध गराएका यी पुस्तक यहाँका बन्दीसँगै प्रहरी साथीहरू र आगन्तुकहरूलाई पनि उपयोगी होउन् भन्ने विश्वास छ´, आचार्यले भने । जीवन उपयोगी, धर्म, इतिहास, दर्शन, उपन्यास, कथा लगायतका व्यवहारिक पुस्तक अहिले उपलब्ध गराइएको अध्यक्ष आचार्यले बताए ।

यी पुस्तकहरू भरतपुर तथा नारायणगढमा रहेका सम्पूर्ण किताब, मास्के पुस्तक भण्डार, कामना पुस्तक पसल, पुष्पाञ्जली पुस्तक भण्डार, आर एस स्टेसनरी, विश्व पुस्तक पसल, दैनिक पूजा तथा पुस्तक पसल, धार्मिक पूजा सामग्री भण्डार, सुनगाभा बुक हाउस, देउराली पुस्तक पसल, न्यू रोशनी सप्लायर्स, न्यू गण्डकी पुस्तक पसल, विद्यार्थी पुस्तक भण्डार, सप्तगण्डकी पुस्तक पसल, एमपी बुक्स, सदीक्षा पुस्तक पसल, ढकाल बुक्स एण्ड स्टेसनरीलगायतका पसलहरूबाट संकलन गरिएको कार्यक्रम संयोजक एवम् महासंघ चितवन शाखाका प्रथम उपाध्यक्ष वीरबहादुर न्यौपानेले बताए । `हामीले एक लाख रुपैयाँ बराबरका २३५ शीर्षकका विभिन्न बिधाका किताब यहाँ उपलब्ध गराएका छौँ´, न्यौपानेले भने ।

कार्यक्रममा महासंघ चितवन शाखाका पूर्व अध्यक्षहरू सरोज मास्के, रामशरण सिलवाल, पंकज अग्रवालसहित पुस्तक व्यवसायीहरू निर्मलकुमार श्रेष्ठ, डिलराज डुम्रे, विनोद ढकाल, लेखराम सापकोटा, राममणि अधिकारी, प्रदीप सुनार, कोपिला गिरी, अभिमन्यू तिवारी, काशी न्यौपानेलगायतको उपस्थिति थियो । महासंघ चितवन शाखाबाट प्राप्त यी पुस्तकहरूलाई सदुपयोग गरि सबैको पहुँचमा राखिने प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी विजयराज पण्डितले बताए ।


Author

थप समाचार
x