समाज

प्रधानसेनापतिले गरे सैनिक आवासीय महाविद्यालयको उद्घाटन

इकागज |
जेठ ४, २०७८ मंगलबार ७:४९ बजे

काठमाडौँ : महोत्तरी जिल्लाको बर्दिवासमा निर्माण भएको फिल्ड अस्पताल र सैनिक आवासीय महाविद्यालयको प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेका छन् । सोमबार प्रधानसेनापति थापाले महाविद्यालयको भ्रमण तथा उद्घाटन गरेका हुन् ।

उद्घाटन पश्चात प्रधान सेनापति थापाले मध्य पूर्वी पृतना हेडक्वार्टरको संयोजन तथा सैनिक कल्याणकारी कोषको लगानीमा “बर्दिबास सैनिक शिविर” भित्र निर्माण भएको २५ शैयाको फिल्ड अस्पताल तथा सैनिक आवासीय महाविद्यालयको बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए ।


नेपाली सेनाको बहालवाला तथा अवकाश प्राप्त सैनिक र आश्रित परिवारहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण भएको फिल्ड अस्पतालबाट डेण्टल प्रोसिजर, बेसिक ल्याब सर्भिस, एक्स रे सेवा, एक्सिडेण्ट तथा ईमर्जेन्सी सेवा र फार्मेसी सेवाहरु सूचारु हुने छन् । 

यस्तै सैनिक आवासीय महाविद्यालय, बर्दिबासमा जनमैत्री शैक्षिक कार्यक्रम अन्तर्गत नं. २ प्रदेश अन्तर्गतका ८ वटा जिल्लाहरुबाट दुई दुई जनाको दरले दलित, जनजाति, विपन्न, पिछडा एवं टुहुरा बालबालिकालाई समेत पूर्ण छात्रवृत्ति सहित समावेश गरी यसै शैक्षिक सत्र २०७८ असार महिनादेखि कक्षा ६ संचालन हुने र प्रत्येक बर्ष क्रमशः कक्षाहरु थप गर्दै लैजाने योजना छ । 

अहिले फैलिदै गरेको कोभिड १९ संक्रमणको कारण स्वास्थ्य क्षेत्रमा उत्पन्‍न भएको असहज परिस्थितिलाई मध्य नजर गरी उक्त नवनिर्मित फिल्ड अस्पतालमा बेडको उपलब्धताको आधारमा गैर सैनिक बिरामीहरुलाई समेत सेवा उपलब्ध गराउने योजना रहेको नेपाली सेनाले जनाएको छ ।
 


Author

थप समाचार
x