समाज

प्रेस काउन्सिलले बनायो विज्ञ समूह, आचारसंहिता उल्लंघनमा विशेष निगरानी

इकागज |
असार २६, २०८० मंगलबार २०:२६ बजे

काठमाडौँ- प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा आचारसंहिता उल्लंघनका घटनाको प्रवृत्तिगत समस्या केलाउन विज्ञ समूह गठन गरी काम सुरु गरेको छ ।

वरिष्ठ पत्रकारहरू तारानाथ दाहाल, डा.महेन्द्र विष्ट र बबिता बस्नेत संलग्न समूहले कार्य प्रारम्भ गरिसकेको काउन्सिलले जनाएको छ । दाहाल र विष्ट नेपाल पत्रकार महासंघकाे पूर्व अध्यक्ष छन् । बस्नेत सञ्चारिका समूहकाे पूर्व अध्यक्ष छन् ।


छापा र प्रसारणसँगै डिजिटल सञ्चारमाध्यमबाट सार्वजनिक समाचारका विषयवस्तु, त्यसबारे जनगुनासो, उजुरी, आचारसंहिताको वर्तमान प्रावधान, काउन्सिलको नियमन, आगामी दिनमा चाल्नुपर्ने कदम समेतबारे विज्ञ समूहले अध्ययन गर्नेछ । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार जगतलाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन विज्ञ समूहबाट आउने सुझाव महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

'सञ्चार माध्यमका आकार, प्रवृत्ति र प्रस्तुतिमा आएका फरकपन, प्रविधिको विकासले अवसरसँगै चुनौती पनि थपेको छ । जनमानसमा गुनासा पनि बढेका छन् । यसलाई सही ढङ्गले सम्बोधन गर्न र काउन्सिलको कामलाई थप व्यवस्थित गर्न यो नौलो अभ्यास थालनी गरिएको हो । र, यो एक श्रृङ्खला मात्र हो,' विज्ञ समूहको मङ्गलबारको बैठकमा अध्यक्ष बस्नेतले भने ।

एक साताअघि बसेको काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकले १० दिनमा कार्य सम्पादन गर्ने गरी विज्ञ समूह गठन गर्ने निर्णय गरेको थियो । अध्यक्ष बस्नेतको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष एवं काउन्सिलका बोर्ड सदस्य विपुल पोखरेल, नेपाल बार एसोसिएसनका महासचिव अन्जिता खनाल, उपसमितिमा सदस्य रहेका काउन्सिलका बोर्ड सदस्यद्वय दिपक पाण्डे र ठाकुरप्रसाद बेलबासे सहभागी बैठकले विज्ञ समूह गठन गरी जिम्मेवारी दिने निर्णय गरेको हो ।


Author

थप समाचार
x