समाज

५१ लाख बराबरका अवैध सामान बरामद

इकागज |
असार २८, २०८० बिहीबार २०:२७ बजे

मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले झन्डै ५१ लाखको अवैध सामान बरामद गरेको छ । 

हेटौंडा-१५ राताेमाटेबाट ४७ लाख बराबरकाे सुनसहित एक जनालाई नियन्त्रणमा लिएकाे छ । यस्तै भन्सार छलि गरी ल्याइएको ३ लाख ५७ हजार ८ सय ८९ सय रुपैयाँ बराबरको कपडा तथा खाद्यान्न बरामद गरेको छ । 


प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार हेटौंडा १५ स्थित रातोमाटेस्थित हेटाैंडा-पथलैया सडक खण्डमा काठमाडौँबाट बिरगंजतर्फ जाँदै गरेको ना १ ज ७४९० नम्बरको सुमोलाई चेकजाँच गर्ने क्रममा सुमाेका यात्रु प्रभु साह साेनारले ल्याएकाे सुन बरामद गरी नियन्त्रणमा लिइएकाे हो ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले बिरगंज महानगरपालिका वडा नम्बर–१ का ३५ वर्षीय सोनारमाथि शंका लागि शरीर तथा झोला खानतलासी गर्ने क्रममा निजको साथबाट भन्सार छली गरी ल्याएको पहेलो धातु सुन ४ सय ८९ ग्राम ३७ मिली ग्राम बरामद गरी नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

बरामद गरिएकाे सुनको बिहीबारको बजार मूल्य ४७ लाख ३६ हजार ७ सय ५९ रहेको प्रहरीले जनाएको छ । पक्राउ गरिएका सोनारलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।

यसैगरी मकवानपुर प्रहरीले हेटौंडा १५, रातोमाटेस्थित सडकखण्डबाट सवारी जाँच गर्ने क्रममा यात्रुबाहक बसका डिक्कीबाट भन्सार छलेर ल्याइएको ३ लाख ५७ हजार ८ सय ८९ सय रुपैयाँ बराबरको कपडा तथा खाद्यान्न बरामद गरेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।

उक्त कपडा र खाद्यान्न प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । बरामद गरेको कपडा तथा खाद्यान्न आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।


Author

थप समाचार
x