समाज

अझै भेटिएन सप्तकाेशीमा खसेकाे ट्रक

इकागज |
असार २९, २०८० शुक्रबार १२:६ बजे

विराटनगर । काठमाडौंबाट आएको ट्रक शुक्रबार बिहान बससँग ठोक्किँदा सप्तरी र सुनसरीको सीमावर्ती कोशी ब्यारेजस्थित सप्तकोशी पुलबाट खसेको छ । 
मे १ ख ३००७ नम्बरको ट्रक काठमाडौंबाट इटहरीसम्म सामान बोकेर आएको जनाइएको छ । काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ गुडेको मे १ ख १७६५ नम्बरको बससँग ठोक्किएर दुर्घटना हुँदा ट्रक चिप्लिएर ब्यारेजबाट खसेको प्रहरीले जनाएको छ ।

बिहान करिब ८ बजेतिर ट्रक र बस ठोक्किएर दुर्घटना भएको हो । पानीमा खसेको ट्रक खोज्ने अवस्था नै नरहेको जनाइएको छ । 


सप्तकोशीमा शुक्रबार बिहान प्रति सेकेण्ड १ लाख ८० हजार क्यूसेक पानी बगिरहेको जनाइएको छ । कोशी ब्यारेज पुलबाट काठ निकाल्ने व्यक्तिहरुले दुर्घटना लगत्तै ट्रक केही तलसम्म बगेको देखेको बताएका थिए । 

पुलको ९ नम्बर ढोका अगाडि दुर्घटना भएर १० नम्बर ढोका अगाडिबाट ट्रक पानीमा खसेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार राईले बताए ।

ट्रकले पुलको ढोकाको बारसमेत भत्काएको छ । ट्रक चालक २४ वर्षीय दिनेश खत्रीसहित तीनजनालाई उद्दार गरिएको र चालकलाई उपचारार्थ पठाइएको प्रहरीको भनाई छ ।  दुर्घटना लगत्तै पुगेको प्रहरीले पानीमा डुबेको अवस्थामा चालक खत्रीलाई उद्दार गरिएको जनाइएको छ ।

दुर्घटनामा बसमा सवार यात्रुहरु भने सकुसल रहेको प्रहरीले जनाएको छ । ट्रकको खोजीका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई डुंगासहित परिचालन गरिएको जनाइएको छ ।


Author

थप समाचार
x