सहमतिपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सञ्चालन
घोराही- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ वर्षीय बालकको मृत्युको घटनालाई लिएर बिरामीका आफन्तले ठप्प पारेको सेवा आजदेखि पुनः सञ्चालन भएको छ । अस्पताल प्रशासन र पीडित पक्षबीच सहमति भएपछि सेवा पुनः सञ्चालन गरिएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा विकास लामिछानेका अनुसार घोराही–३ का वडाअध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति बनाउने सहमति भएको छ । समितिले घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन ल्याउने छ । शैक्षिक योग्यताअनुसार मृतकका नजिकका आफन्त एक जनालाई रोजगारी दिने सहमति भएको लामिछानेले बताए ।
पीडित परिवारका लागि आर्थिक सहयोग जुटाइने भएको छ ।
सहमतिपछि बालकको शव आफन्तले बुझेका छन् । छारे रोगबाट पीडित ११ वर्षीय आक्रोश नेपालीको मृत्यु भएको थियो । उपचारमा लापरबाही गरेका कारण उनको ज्यान गएको मृतकका आफन्तजनले आरोप लगाएका थिए । उचित क्षतिपूर्तिको माग गर्दै उनीहरूले शुक्रबार दिनभर अस्पतालको सेवा अवरुद्ध पारेका थिए ।
मृत्यु भएका बालकको उपचारका क्रममा लागेको सम्पूर्ण खर्च प्रतिष्ठानले ब्यहोर्न कार्यकारी परिषद्लाई सिफारिस गर्ने सहमति भएको उपकुलपति डा लामिछानेले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया