मासिक ५० हजार पारिश्रमिक पाउने भएपछि दर्जनौँ नेपाली रुसको वाग्नर समूहमा भर्ती
एक वर्षमै रुसको नागरिकता पाउने आश
काठमाडौँ- गोर्खा सेनामा रहेका दर्जनौँ नेपालीहरू रुसको वाग्नर समूहमा आवद्ध भएका छन् ।
द टेलिग्राफले जनाएअनुसार गोर्खा सेनामा आवद्ध दर्जनौँ नेपालीहरू युक्रेनविरुद्ध रुसका लागि लडिरहेको भाडाको सेनाको समूहमा गएका हुन् ।
भारतीय सरकारले नेपाली नागरिकलाई आफ्नो सेनामा भर्ती गर्ने प्रकृयामा कडाइ गरेपछि नेपालीहरू वाग्नर समूहमा आवद्ध भएका हुन् ।
गोर्खाली सेनाले रुस र बेलारुसमा रहेका वाग्नर समूहसँग अभ्यास गरिरहेको भिडियोहरू सार्वजनिक गरेका छन् ।
वाग्नर समूहमा आवद्ध हुन चिसापानीका २२ वर्षीय कमल आचार्य गत मे महिनाको सुरुवातमै रुस प्रस्थान गरेका थिए ।
मे २९ मा उनले रुसी सेनाको पोसाकमा उनले हतियार बोकेको भिडियो सार्वजनिक गरेका थिए ।
कमलका साथी उमेश शाहीले बताएअनुसार वाग्नर समूहले ठूलो रकम दिने जानकारी पाएपछि कमल मस्को गएका हुन् ।
अहिलेसम्म ५० जना नेपाली वाग्नर समूहमा आवद्ध भइसकेको तथा थप २ सय जना अवद्ध हुने तरखरमा रहेको बताइएको छ ।
उनीहरूले मासिक ५० हजार रुपैयाँ पाउने गरेको टेलिग्राफले जनाएको छ । त्यसबाहेक बीमा सुविधा पनि छ ।
एक वर्षपछि उनीहरुलाई रुसको नागरिकता दिने आश्वासन समेत दिइएको छ ।
‘एक वर्षपछि रुसको नागरिकता उपलब्ध हुनेछ । यदि म एक वर्षसम्म जिउँदो रहे, म रुसमै बस्नेछु,’ वाग्नर समूहमा आवद्ध एक नेपालीले बताए ।
ठूलो रकम पाउने अपेक्षासहित कमल रुस गएको उमेशको भनाइ रहेको द टेलिग्राफले जनाएको छ ।
अध्ययनका लागि रुस गएका कैयौं नेपालीहरु पनि रुसी सेनामा आवद्ध भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया