एलओडीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै भन्योः कानुनलाई पालना गरी व्यवसाय गरेका छौँ
फाइल फोटो
काठमाडौँ- ठमेलस्थित एलओडी क्लबले कानुन भन्दा माथि कोही पनि नरहने बताएको छ । कानुनको परिधिभित्र रहेर व्यवसाय गरेको क्लबले प्रस्ट पारेको छ । केही साताअघि एलओडी क्लबमा आएकी किशोरीलाई एक पुरूषले ललितपुरमा लगि बलात्कार गरेका थिए । सोही घटना सार्वजनिक भएपछि नाबालिक किशोरीलाई प्रवेश दिएको भन्दै सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बिहीबार क्लबले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै किशोरीमाथि भएको घटनाप्रति दु:ख व्यक्त गरेको छ । पीडित र परिवारप्रति क्लबको सदा साथ रहने प्रतिबद्धता जाहेर गरेको छ । क्लबले कानुनको पालना गर्न सधै तयार रहेको बताएको छ । हामी कानुन भन्दा माथि छैनौ । कानुनको परिधिभित्र रहेर व्यवसाय गरेका छौ र गर्नेछौ । हरेक कुराको सुरक्षा गर्न क्लब कटिबद्ध छौ । हामी आफूलाई जवाफदेही बनाउँछौं,' विज्ञप्तिमा बताइएको छ ।
'सामाजिक न्याय र लैङ्गिक समानता प्रति प्रतिबद्ध छौ । जुन कुराले आजसम्म हामीलाई दुःखीत बनाएको छ । सदा पीडित किशोरी र परिवारप्रति हाम्रो सदा साथ रहनेछ,' क्लबले भनेको छ,' यो दुभाग्यपूर्ण घटना क्लब परिसरमा भएको थिएन । क्लबभन्दा बाहिर भयो । केही कमी कमजोरी क्लब व्यवस्थापनको तर्फबाट भएको छ । घटना क्लबभित्र भएको भए त्यसको सम्पूर्ण जिम्मा लिन सदा तयार छौ । कानुनको पालना गर्दागर्दै कोहीबेला हामीबाट थोरै चुक्न पुगेका छौ । यसमा क्षमा चाहन्छौ ।'
घटना हुँदासम्म क्लबले थाहा नभएको बताएको छ । 'प्रहरीकोमा घटना दर्ता भएपछि मात्र थाहा पायौँ । जुन घटनाले हामीलाई दुःखी बनाएको छ,' क्लबले जारी गरेको विज्ञप्तिमा लेखिएको छ । क्लबले कर्तव्य, मूल्य मान्यता, सामाजिक दायित्व र सिमाहरु भन्दा बाहिर गएको महसुस भइसककेको बताएको छ । यस्ता घटनाबाट पाठ सिक्ने र घटना फेरि नदोहोरियोस् भनेर सचेत र सजग भइसकेको क्लबको भनाइ छ । 'हाम्रो जिम्मेवारी कहिले पनि पन्छिने छैनौ,' क्लबले भनेको छ ।
क्लबका अनुसार १८ वर्षमाथिकालाई प्रवेश अनुमति छ । कुनै पनि नाबालिग किशोर-किशोरीलाई क्लबमा प्रवेश गर्न अनुमति छैन । उमेर खुल्ने परिचय पत्र अनिवार्य छ । कर्मचारीले आवश्यक र शंका लागेमा ग्राहकलाई जुनसुकै समयमा परिचयपत्र माग्न सक्छन् । एलओडीले सधैँ आफ्ना कर्मचारी र ग्राहकको सुरक्षालाई प्राथमिकतामा राखेको छ । क्लबले ग्राहकलाई अतिथि र कर्मचारीलाई परिवार सम्झेर व्यवहार गरिरहेको स्मरण गराएको छ ।
'हाम्रो प्राथमिकतामा सबै अतिथिहरूको लागि सुरक्षित वातावरण उपलब्ध गराउनु हो,' विज्ञप्तिमा लेखिएको छ । क्लबले सार्वजनिक क्षेत्र कभर गर्ने गरी सीसी क्यामेरा जडान गरिएको बताएको छ । प्रविधिले हामीलाई क्लब भित्र र बाहिरका गतिविधिहरूलाई नियाल्न सहज भएको छ । जसले अवाञ्छित गतिविधिलाई रोक्न नियन्त्रण गर्ने क्लबको विश्वास छ । क्लब जानेहरूको सुरक्षा गर्न पनि तयार रहेको जनाएको छ । क्लबले सबैको सुरक्षा गर्नु आफ्नो जिम्मा रहेको बताएको छ । 'सुरक्षित र मनोरञ्जन वातावरण बनाउन र काठमाण्डौँ बाहिरका पाहुना, स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत गर्न सधै आतुर छौँ,' विज्ञप्तिमा प्रस्ट पारिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया