महोत्तरीको रातु नदी डम्पिङ साइटमा परिणत हुँदै
महोत्तरी- नदी संरक्षण र सभ्यताको कुरा उठिरहेका बेला महोत्तरीको रातु नदी कुरूप देखिँदै गएको छ । जिल्लाका सम्बन्धित नगरहरूले यस विषयमा ध्यान दिन नसक्दा मानवीय क्रियाकलापकै कारण नदी कुरूप बन्दै गएको हो ।
जिल्लाकै सबैभन्दा गौरव मानिएको नदीको अस्तित्वको विषयलाई लिएर चुरे अभियन्ताहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । जिल्लाको उत्तरवर्ती क्षेत्रका कतिपय गाउँहरूमा नदी अतिक्रमण गरेर संरचनाहरू बनाइएका छन् भने सहरी क्षेत्रमा फोहोर फ्याक्ने डम्पिङ साइड बनाइएको छ ।
विशेषगरि बर्दिबास नगरपालिका र यसको वरपर फोहोर फ्याँक्ने स्थल नै रातु नदीलाई बनाइएको देखिएको छ । ‘वन जंगलमा घाँसपातका लागि जाँदा पनि नदीमा फ्याँकिएका वस्तुहरूको दुर्गन्धले साह्रै गाह्राे हुन्छ,’ बर्दिबासका स्थानीय होमबहादुर मोक्तान बताउँछन् ।
रातु नदी आफैँमा मानव सभ्यताको पहिचान मात्र हैन रातु ठाकुर देवताको धार्मिक महत्व समेत बोकेको छ । रातु नदीमा गएर परेवा पूजा र पूजापाठ गर्नाले कहिल्यै रोग नलाग्ने धार्मिक विश्वास रहेको पाइन्छ । कहिले दोहन, कहिले अतिक्रमण त कहिले फोहोर फ्याँक्ने डम्पिङ साइड बनाइरहेको आरोप खेपिरहेको बर्दिबास नगरपालिकाले सहरी क्षेत्रमा फोहोर उठाउन ठेक्का लगाएको छ ।
फोहोरकै विषयलाई लिएर स्थानीयहरूबाट चर्को विरोध भएपछि अघिल्लो स्थानीय सरकारले फोहोर प्रशोधन गरेर मोहरमा रूपान्तरण गर्ने योजना नै बनाएको थियो ।
त्यतिबेला फोहोरलाई मोहर बनाउने योजना नीति तथा कार्यक्रममा नै समावेश गरे पनि पूर्णतः असफल नै बन्यो । अहिले पनि सोही नीति तथा कार्यक्रम पुनरावृत्ति भएको छ । तर, फेरि पनि काम हुनेमा सर्वसाधारण ढुक्क छैनन् । औरही, रामगोपालपुर, बल्वा, पिपराजस्ता ठाउँहरूमा अनियन्त्रित दोहनले पनि रातुले धार मात्र परिवर्तन गरेको छैन, पहिलेको रातु र अहिलेको रातुमा आकाशपाताल फरक रहेको स्थानीयहरू बताउँछन् ।
रातु सभ्यतालाई बचाइराख्नुपर्छ भन्ने उद्देश्यले अहिले जिल्लामा नदी प्रणाली संरक्षण समिति गठन भएको छ । समिति अध्यक्ष निरज अधिकारी भन्छन्, ‘स्थानीय सरकारहरू विशेषगरि नदी संरक्षण र सभ्यताको संरक्षणको लागि स्थानीय सरकार नै चनाखो हुनुपर्ने हो । नदी सभ्यता मात्र हैन यहाँ नदीजन्य पदार्थ पनि जोगाउनु हाम्रो कर्तव्य हो ।’ नदीजन्य पदार्थको दोहनले पानीका सतह समेत गहिरिँदै गएको छ । जसको कारण इनार र बोरिङहरू सुक्दै गएर पानीको अभाव सिर्जना भएको छ ।
नदीजन्य पदार्थको दोहनकै कारण तटीय क्षेत्रका मानिसहरू घरवारविहीन समेत बनेका छन् । अघिल्लो वर्ष मात्र रातु नदीको अनियन्त्रित बहावले जलेश्वरस्थित रमैल तथा बजराही, मनरासिश्वाका केही ठाउँ, मटिहानीको सिमरदही, बहुअर्वा, पासमान टोलजस्ता ठाउँहरू डुबानको चपेटामा परेका थिए भने बर्सेनि हजारौं मानिसहरू प्रताडित बन्दै आएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया