समाज

प्रधानमन्त्रीको सल्लाहकार भन्दै ठगी गर्ने दुई जना पक्राउ

इकागज |
साउन ७, २०८० आइतबार १९:५९ बजे

काठमाडौँ- प्रधानमन्त्रीको सुशासन सल्लाहकार भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी कसुरमा दुई जनालाई पक्राउ गरेको एसपी रविन्‍द्र रेग्मीले जानकारी दिए । 


काठमाडौँको नागार्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाल खनाललाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरूलाई आइतबार दिउँसो साढे १ बजे कोटेश्वरबाट पक्राउ गरेको हो । 

उनीहरूले ४५ लाखभन्दा बढी रकम ठगी गरेको र ना ४ च ८६७० नम्बरको जिप लिएर भागेको भन्ने उजुरी परेको छ । उनीहरूले प्रधानमन्त्रीका सुशासन सल्लाहकार एवं अन्य प्रमुख नेताहरूसँग समेत चिनजान भएको भन्दै ठगी गरेको आरोप छ । 

इलाका प्रहरी कार्यालय दमकमा उनीहरूविरूद्ध मुद्दा दर्ता भएको थियो । जिल्ला अदालत भद्रपुरबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । थप अनुसन्धानका लागि प्रहरीले उनीहरूलाई दमक पठाइसकेको छ ।


Author

थप समाचार
x