समाज

मोरङमा एक युवकद्वारा विष सेवन गरी आत्महत्या प्रयास

इकागज |
साउन ७, २०८० आइतबार २०:५१ बजे

मोरङ- जिल्ला प्रशासन कार्यालय मोरङको परिसरमा एक युवकले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् ।

आइतबार अपराह्न करिब ४ बजे प्रशासन कार्यालय क्षेत्रमा चेक बाउन्स मुद्दामा फरार कटहरी गाँउपालिका–३ का विनित सोनारले विष सेवन गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार खोजी सूचीमा रहेका करिब ३२ वर्षीय सोनारले किटनाशक औषधि ‘ट्रिक्कल’ सेवन गरेका थिए । फरार रहेका उनी अपराह्न प्रशासन कार्यालय पुगेका थिए ।

प्रशासन कार्यालय पुगेको खबरसँगै प्रहरी पक्राउ गर्न पुगेको थियो । प्रहरीलाई देखेसँगै सोनारले किटनाशक औषधि सेवन गरेको प्रवक्ता दाहालले जानकारी दिए ।

प्रहरीका अनुसार सोनारको तत्काल उद्धार गर्दै उपचारका लागि कोसी अस्पताल पुर्‍याइएको थियो । कोशीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको प्रवक्ता दाहालले बताए । 


Author

थप समाचार
x