समाज

यस कारण लोक सेवाको प्रश्नप्रति कर्णालीका महिलाले विरोध गरे

इकागज |
साउन ९, २०८० मंगलबार १४:३८ बजे

सुर्खेत- ‘गेमस्काउट, वन रक्षक, सफलताको साथी’ नामक पुस्तकमा रहेको प्रश्नप्रति कर्णालीका अधिकारकर्मी महिलाहरूले विरोध जनाएका छन् । सो पुस्तकको पेज नम्बर १४३ मा केटी (महिला) हरूबारे आपत्तिजनक शब्दसहित प्रश्नोत्तर राखिएको छ । प्रश्न नं १८ मा 'केटीलाई भालु किन भनिएको होला ?' भन्ने प्रश्न राखिएको छ । उक्त प्रश्नको उत्तरहरूको विकल्पमा 'पोथी भालु जस्तो व्यवहार भएर', 'पोथी भालुले एक पल्टमा धेरै भालेसँग संसर्ग गर्ने भएर', 'पोथी भालु बहुपती गामी हुन्छ' र 'माथिका सबै' राखि प्रश्न निर्माण गरिएको छ । यही प्रश्नले आम महिलाहरूलाई अपमान गरेको भन्दै महिलाहरूले विरोध जनाएका हुन् ।

उक्त पुस्तकका लेखक वन तथा वातावरण मन्त्रालयका सहायक संरक्षण अधिकृत राम एकवाल दासलाई कर्णालीका विभिन्न राजनीतिक दल सम्बद्ध महिला संगठन तथा अधिकारकर्मीहरूले कारबाहीको माग गरेका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत दासलाई कारबाहीको माग समेत गरे ।


दासले विद्या विकास पब्लिकेसन्स कलंकीले प्रकाशित गरेको वन तथा वातावरण मन्त्रालय नेपाल सरकारका सहायक संरक्षण अधिकृतमा कार्यरत उनले तयार गरेको यस प्रश्नले महिलाहरूको चरित्र हत्या मात्र नभई अस्मिताको समेत खिल्ली उडाएको कर्णालीका महिला अधिकारकर्मीहरूको ठहर छ ।

अखिल नेपाल महिला संघ कर्णालीका अध्यक्ष पद्मा खड्काले यस्ता प्रश्नपत्र लेख्ने र छाप्नेहरूलाई कारबाही हुनुपर्ने बताइन् । ‘यसमा हामी नेपाली आमा दिदीबहिनीहरूको इज्जतमाथि ठूलो घात पुर्याउन खोजिँदै छ,’ खड्काले भनिन्, ‘के महिलाले वन रक्षकको परीक्षा दिँदै गर्दा यो प्रश्नको जवाफ दिन सक्छन् त ? हामी सबैको ध्यान जान जरुरी छ यो पुस्तक प्रकाशक र सम्पादक दुवैलाई कारबाहीको माग गर्दछौं ।’

नेपाल सरकारको अधिकृत जस्तो गरिमामय पदमा बसेको व्यक्तिले यसरी आम महिलाहरूको चरित्रहत्या हुने खालको पुस्तक निकाल्नु निन्दनीय कार्य भएकाले लेखक दासलाई कारबाही गर्नुपर्ने उनको माग छ ।

अखिल नेपाल महिला संघ कर्णाली, अन्तरपार्टी महिला सञ्जाल सुर्खेत, नेपाल महिला संघ, अखिल नेपाल महिला संघ सुर्खेत, बालविवाहविरुद्ध साझा अभियान सञ्जाल कर्णाली प्रदेश लगायत २० वटा संघ संस्थाहरूले संयुक्त रूपमा विज्ञप्ति निकालि विरोध जनाएका छन् ।

यता उक्त विवादित प्रश्नका लेखक दासले फेसबुकमार्फत उक्त प्रश्न प्राविधिक कारणले गल्ती हुन पुगेको बताएका छन् । महिलालाई आक्षेप लगाउने नियतले उक्त प्रश्न निर्माण गरिएको नभई प्रश्न निर्माणका क्रममा प्राविधिक कारण गल्ती हुन पुगेको प्रस्ट्याएका छन् । 


 


Author

थप समाचार
x