लम्पी स्किन महामारीका कारण चाँगुनारायणमा ८० प्रतिशत पशु संक्रमित
काठमाडौँ- गाईभैँसीमा फैलिएको लम्पी स्किन महामारीका कारण भक्तपुरको चाँगुनारायण नगरपालिकामा ८० प्रतिशत गाई संक्रमित बनेका छन् ।
भक्तपुरको चार वटा नगरापालिका मध्य लम्पी स्किन रोग प्रकोपका कारण सबैभन्दा धेरै प्रभावित बनेको चाँगुनारायण नगरपालिकामा ८० प्रतिशत गाई संक्रमित बनेका हुन् । उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका छन् । नगरपालिकाका पशुविकास अधिकृत खड्ककुमार मैनालीका अनुसार गाई भैँसीको मृत्युदर लिखित डाटामा कम भए पनि गाउँघरमा जाँदा ठूलो संख्यामा रहेको देखिएको छ ।
उनले यो संक्रमणको असर आगामी वर्षमा गाईभैँसीहरूमा गर्भधारण नभई उल्टी रहने बाँझोपनको समस्या आउन सक्ने भन्दै सचेत हुन आग्रह गरे । यस्तै, नगरपालिकाभित्र ठूलो संख्यामा गाईको क्षति भएको बताउँदै किसानहरूलाई राहत उपलब्ध गराउने विषयमा प्रदेश सरकार, विज्ञ केन्द्र र पशु सेवा विभागलाई अनुरोध गर्दै पत्र लेखेकाे जानकारी समेत गराए ।
चाँगुनारायण नगरपालिकाका ९ वटै वडामा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलँदा पशुचौपायाको अवस्था भयावह बन्दै गएपछि नगरपालिकाले महामारीको नियन्त्रणका लागि घुम्ती सेवा सुचारु गरेको छ । घुम्ती सेवामार्फत किसानलाई परामर्श दिनुका साथै तथ्याङ्क संकलन र निःशुल्क औषधि वितरणको काम भइरहेको छ । सो क्रममा चाँगुनारायण नगरपालिका पशुपन्क्षी विकास शाखाका डा. सौरभ गैलालले पशुपालन क्षेत्रमा रोग भित्रिन नदिन व्यवस्थापन, प्रजनन, आहरा तथा स्वास्थ्यका क्षेत्रहरूमा असल पशुपालन अभ्यासको विकास गर्दै लैजानुपर्नेमा जोड दिए ।
उनले लम्पी स्किन रोग लागेका गाईभैँसीको दूध खान हुन्छ वा हुन्न भन्ने किसानहरूको ठूलो प्रश्न रहेको भन्दै ढुक्क भएर खान अनुरोध गरे । संक्रमण नियन्त्रणका लागि एन्टिबायोटिक प्रयोग भएको गाईभैँसीमा भने ७ दिनसम्म दूध खान नहुने उनको भनाइ छ ।
नगरपालिकाका पीडित किसानहरूले भने नगरपालिका भित्र वितरण हुने औषधि भनसुनका आधारमा पहुँचवाला व्यक्तिका घर परिवारलाई मात्र वितरण हुने गरेको तथा पशु चिकित्सकहरू पनि दरबन्दी अनुसार उपलब्ध नभएको लगाएका गुनासो गरेका थिए ।
पछिल्लो तथ्यांक अनुसार लम्पीबाट ७७ जिल्ला नै प्रभावित भएको छ भने आठ लाखभन्दा बढी पशु संक्रमित भइसकेका तथा २७ हजारभन्दा बढी पशुको मृत्यु भइसकेको छ । नेपाल पशु चिकित्सा परिषदको अध्ययन अनुसार ३८ अर्बभन्दा बढी रुपैयाँको आर्थिक क्षति भइसकेको छ । उक्त रोग लागेपछि गाईभैँसीले कचेरा निकाल्ने, सिङ्गान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना–ठूला गिर्खा तथा फोका देखिन्छ ।
हाल भने उक्त महामारी केही हदसम्म कम हुँदै गएको विज्ञहरूको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया