समाज

भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान

इकागज |
साउन ९, २०८० मंगलबार १८:४० बजे

काठमाडौँ- यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ ।

भीमसेन थापाको २४९ औं जन्मजयन्तीका अवसरमा भीमसेन थापा स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै उक्त पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेको हो । १ लाख रुपैयाँ राशि रहेको उक्त पुरस्कार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले केन्द्रका संस्थापक महावीर पुनलाई हस्तान्तरण गरे ।


पुरस्कार हस्तान्तरण गर्दै खड्काले यसअघि महावीर पुनसँग भएको सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै छिट्टै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । त्यस्तै केन्द्रका संस्थापक पुनले अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धी काममा युवाहरूलाई परिचालन गर्दै मुलुकको विकास गर्न सकिने बताए ।

उनले सरकारले यसअघि आफूसँग गरेको सहमतिका केही बुँदाहरू कार्यान्वयन नभएको भन्दै मन्त्री खड्काको ध्यानाकर्षण गराएका थिए । 


Author

थप समाचार
x