समाज

दाङमा वर्षाले १६ घर डुबानमा, एक घर भत्कियाे

राप्ती र बबई नदीमा बाढी आउन सक्ने भन्दै तटका बासिन्दालाई सतर्क रहन आग्रह

इकागज |
साउन ९, २०८० मंगलबार १९:१४ बजे

काठमाडौँ- अविरल वर्षाका कारण दाङको लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा १६ घर डुबानमा परेका छन् भने एक घर भत्किएको छ ।

घरहरू डुबानमा परेको खबर प्राप्त हुनासाथ पुगेको प्रहरीले नागरिकहरूको उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । राजपुर गाउँपालिका-२ की पुष्पा नेपालीको घर भत्किएपछि उनको परिवारलाई छिमेकी ग्वाते कुमालको घरमा सारिएको दाङ प्रहरीले जनाएको छ ।


त्यसैगरी खहरे खोलाहरूमा आएको बाढीका कारण गढवा कालाकाँटे हुलाकी सडक खण्ड अवरुद्ध भएको छ । पालिकाको सहयोगमा डोजरहरूको प्रयोग गरेर बाढीसँगै आएको पहिरो तथा लेदो हटाउने काम सुरु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै तुलसीपुरदेखि घोराही आउँदै गरेको स्कारपियो तुलसीपुर-१४ मा पर्ने स्थानीय खोलामा आएको बाढीले बगाएको छ । गाडीमा चालक मात्रै रहेको र चालकको उद्धार गरिएको पनि प्रहरीले जनाएको छ ।

लगातारको वर्षाले राप्ती नदी र बबई नदीमा बाढी आउन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभाव फिल्ड कार्यालय दाङले बिहानै नदी तटका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको थियो ।


Author

थप समाचार
x