समाज

सदर चिडियाखानामा सटल बस व्यवस्था गर्ने ललितपुरका मेयर महर्जनको घोषणा

इकागज |
साउन १३, २०८० शनिबार १४:२३ बजे

काठमाडौँ- ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सो चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज होस् भन्ने उद्देश्यका साथ आफूले सटल बसको व्यवस्था छिट्टै गर्ने घोषणा गरेका हुन् ।

विश्व बाघ दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १४/१५ सिटको हुने सो बस घुमी रहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई चिडियाखानाको दृश्य दोहोरेयाई, तेहेर्याई हेर्ने गरी आवश्यक व्यवस्था मिलाउने बताए । त्यसैगरी मेयर महर्जनले सो चिडियाखाना अगाडि चालु आर्थिक वर्ष भित्रै टाइगर गेट बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।


धेरै वर्ष पहिले त्यहाँ रहेको टाइगर गेट भत्काउने काम भएकाले आफूले त्यसलाई पुनः बनाउन लागेको उनको भनाइ थियो ।

कार्यक्रममा मेयर महर्जनले सो चिडियाखाना भित्रको पोखरी संरक्षणमा पनि आफूले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषले मेयर महर्जनलाई वातावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकोमा सम्मान गरेको थियो ।

 


Author

थप समाचार
x