मनहरीको ‘आमा घर’लाई रोटरी क्लब नारायणगढको सहयोग
मकवानपुर- रोटरी क्लब अफ नारायणगढले मकवानपुरको मनहरीमा रहेको आमा घर सेवा आश्रमलाई खाद्यान्न तथा बिरुवा सहयोग गरेको छ । स्पाउस क्लवका सदस्यहरूसहित पुगेको रोटरी क्लबको समूहले आमा घरलाई एक लाख रुपैयाँ बराबरको सहयोग गरेको हो ।
मनहरीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि उत्तरतर्फ ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले आमा घर सञ्चालन गर्दै आएको छ । यहाँ विभिन्न कारणले परिवार गुमाएका वा परिवारमा रहन नसकेका वृद्धाहरूलाई आश्रय दिने गरिएको छ ।
क्लबका अध्यक्ष भोलानाथ लामिछानेले क्लबको नियमित कार्यक्रमअन्तर्गत आमा घरका लागि आवश्यक खाद्यान्न सहयोग गरिएको बताए । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले व्यवस्थापन गर्दै आएको पिस पार्कका लागि विभिन्न ३० प्रकारका बिरुवाहरू उपलब्ध गराएर वृक्षरोपण पनि गरिएको लामिछानेले बताए ।
पूर्वअध्यक्ष सहनलाल प्रधानले रोटरी क्लब अफ नारायणगढले आमा घरमा दोस्रोपटक सहयोग गरेको बताए । क्लबले चितवन, तनहुँ र नवलपरासीमा पिउने पानीका लागि विभिन्न योजनाहरू सञ्चालन गरेको प्रधानले बताए । साथै शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा क्लबले सहयोग गर्ने गरेको उनले बताए ।
सो अवसरमा क्लबका सदस्यहरूले व्यक्तिगत रूपमा पनि सहयोग गरेको स्पाउस क्लब अफ रोटरी क्लब नारायणगढकी अध्यक्ष पूर्णिमा श्रेष्ठले जानकारी दिइन् ।
आमा घर सेवा आश्रमकी प्रमुख रेवती घिमिरेले आश्रममा आश्रयका लागि आइपुग्ने आमाहरूलाई परिवारमै रहेको अनुभूति दिनेगरी सेवा दिने गरेको बताइन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, वडाध्यक्ष नारायण उप्रेती, आमा घरका संरक्षक विजयराज सिग्देल पनि सहभागी थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया