समाज

लागूऔषध मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

इकागज |
साउन १८, २०८० बिहीबार २०:२० बजे

मकवानपुर- मकवानपुर प्रहरीले लागूऔषध मुद्दाका फरार एक जना प्रतिवादीलाई १२ वर्षपछि पक्राउ गरेकाे छ । २०६८ पुष १५ गते लागूऔषध डाइजेपामसहित नियन्त्रणमा लिइएका सुवाश ढकाल र स‍न्ताेष चापागाई शर्मा प्रहरीकाे हिरासतमा रहेका बेला २०६८ माघ ५ गते भागेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खोजतलाश गरिरहेकाेमा फरार मध्ये शर्मालाई साउन १८ गते बिहीबार चितवन जिल्ला भरतपुर महानगरपालिका-१० बाट पक्राउ गरी अनुसन्धान भइरहेकाे मकवानपुर प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।


२०६८ साल पुष १५ गते दिउँसाे १ बजे हेटौंडा-१५ रातोमाटे चेकपोष्टस्थित राजमार्गमा सवारी साधन जाँच गर्दा बिरगंजबाट चितवन तर्फ जाँदै गरेको बसमा सवार हेटौंडा-११ का ढकाल र शर्मालाई लागूऔषध डाइजेपाम १ सय ८० एम्पुलसहित नियन्त्रणमा लिइएकाे थियाे । जिल्ला अदालत मकवानपुरबाट दिन २५ को म्याद लिई न्यायिक हिरासतमा राखी थप अनुसन्धान भई रहेकाेमा २०६८ माघ ५ गते राति हिरासत कक्षबाटै भागिरहेका ढकाल र शर्मा मध्ये शर्मालाई पक्राउ गरिएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।  

यसैबीच मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएकाे छ । हेटौंडा-१५ राताेमाटेबाट ६ किलाे ५ सय ग्राम गाँजासहित सिन्धली हरिहरपुर-३ का बुद्धबहादुर भाेलन र हरिहरपुर-२ का लालबहादुर तामाङलाई नियन्त्रणमा लिइएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।

साउन १८ गते बिहीबार साँझ ५ बजे हेटौंडा-१५ रातोमाटे चेकपाेष्टस्थित पूर्व-पश्चिम सडक खण्डमा प्रहरी टोलीले हेटौंडाबाट बिरगंज तर्फ जाँदै गरेको बा.४ ख २१९१ नम्बरकाे बस जाँच गर्दा उक्त परिणामकाे लागूऔषध फेला परेकाे मकवानपुर प्रहरी प्रवक्ता कार्कीले बताए । बसमा सवार भाेलन र तामाङलाई गाँजासहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकाे कार्कीले जानकारी दिए ।


Author

थप समाचार
x