समाज

पुलिस रिपोर्ट प्रमाणीकरण बसेको ठाउँबाट पाइने

इकागज |
साउन २१, २०८० आइतबार १४:२८ बजे

काठमाडौँ- के तपाई पुलिस रिपोर्ट बनाउनु हुँदैछ ? यदि त्यसो हो भने अबदेखि विभिन्न कार्यालय वा कन्सुलर विभाग धाउनुपर्ने झन्झटबाट मुक्त हुनुहुनेछ । पुलिस रिपोर्ट प्रमाणीकरण गर्न कन्सुलर सेवा विभाग धाइरहनु भएको थियो भने बसेको ठाउँबाटै अनलाइन सुविधाबाट यो सेवा लिन सकिने भएको छ ।

प्रहरीले प्रदान गरेको चारित्रिक प्रमाणपत्र अनलाइनबाटै प्रमाणीकरण गरिदिने कन्सुलर विभागले व्यवस्था गरेको छ । विभागले आइतबारदेखि सो सेवा सुरु गरेको हो ।


आइतबार विभागमा आयोजित एक कार्यक्रम गरेर परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अनलाइनबाटै पुलिस रिपोर्ट प्रमाणीकरण सेवाको शुभारम्भ गरेका हुन् । 

विभागले यो सेवा अनलाइनबाट प्रवाह गर्ने भएपछि अब विभागमा दैनिक लाग्ने भीड कम हुने विश्वास गरेको छ ।

परराष्ट्रमन्त्री साउदले सेवा शुभारम्भ गर्दै सरकार सबै खाले प्रशासनिक सेवामा नागरिकलाई सहजता प्रदान गर्न लागिरहेको बताए । उनले वर्तमान सरकार बनेपछि नागरिकलाई सेवा प्रवाह गर्ने विषयमा बदलाव आएको दाबी गरे ।

'यहाँ पनि सेवाग्राहीको भीडभाड हुने अवस्था थियो । सानो कामका लागि पनि लामो समय लाइनमा बस्नुपर्ने अवस्था थियो । अब कम्तीमा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणकै लागि कन्सुलर विभाग धाइरहनुपर्दैन । यो सेवा हामीले अनलाइनबाट घरमै बसी बसी गर्न सकिने गरी प्रबन्ध गरेका छौं,' उनले भने, 'यसले काठमाडौं बाहिरबाट आउने सेवाग्राहीको हकमा ठूलो आर्थिक भार घटाएको छ ।'

विभागका अनुसार प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने सेवा सुरु भएपछि अब दैनिक करिब १६ सय सेवाग्राही प्रत्यक्ष लाभान्वित हुनेछन् ।

 


Author

थप समाचार
x