समाज

धनगढीमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

इकागज |
साउन २१, २०८० आइतबार १५:३७ बजे

कैलाली- धनगढी उपमहानगर परिसरमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका कार्यालयको परिसरमा जडान गरिएको विद्युतीय सवारी चार्जिङ स्टेशन आजबाट सञ्चालनमा आएको हो ।

आइतबार धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी रानाले चार्जिङ स्टेशनको उद्घाटन गरेकी छिन् । चार्जिङ स्टेशन  नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हो ।


एक सय ४० किलोवाट क्षमताको चार्जर रहेको उक्त चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जर राखिएका छन् । 

सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् । चार्जिङ स्टेशनमा पेट्रोलपम्पमा जस्तो मान्छे बसेर सेवा दिइरहनु नपर्ने नेपाल विद्युत प्राधिकरणका बिबस आचार्यले बताए । उनले चार्जिङ स्टेशनमा पुगेर गाडी चार्ज गर्नुअघि सवारी धनीले कार्ड स्वाइप गरेर पैसा तिर्नुपर्ने बताउँदै कति मिनेटसम्म वा कति रुपैयाँसम्मको चार्ज गर्ने हो त्यसैअनुसार पैसा काटिने बताए ।  

बिहान र राति चार्ज गर्दा १० रुपैयाँ ४४ पैसा प्रतियुनिट, दिउँसो ८ रुपैयाँ २८ पैसा प्रतियुनिट र राति ११ बजेपछि ६ रुपैयाँ चार्ज शुल्क तोकिएको आचार्यले बताए ।
 


Author

थप समाचार
x