समाज

हेटौंडाका एक जनाको डेंगी संक्रमणबाट मृत्यु

थप १२ जनामा डेंगी संक्रमण पुष्टि

इकागज |
साउन २५, २०८० बिहीबार १९:१६ बजे

मकवानपुर- हेटौंडा उपमहानगरपालिकका एक जनाको डेंगी संक्रमणबाट मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२, पदमपोखरीका राजेश प्रधानको डेंगी संक्रमणबाट बिहीबार मृत्यु भएको हो ।

प्रधानलाई तीन दिनअघि हेटौंडास्थित सन्चो अस्पतालमा परीक्षण गराउँदा डेंगी संक्रमण पुष्टि भएको डा. विकास थापाले जानकारी दिए । डेंगी संक्रमण देखिएपछि घरमै आराम गर्ने भनेर गएका प्रधान मंगलबार अस्पताल भर्ना भएका थिए । बुधबार थप उपचारका लागि चितवन भरतपुर लगिएका प्रधानको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।


मृतक प्रधानलाई दोस्रो पटक डेंगी संक्रमण पुष्टि भएको थियो ।

हेटौंडामा थप १२ जनामा डेंगी संक्रमण पुष्टि

यसैगरी हेटौंडा उपमहानगरपालिकामा थप १२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा डेंगी संक्रमण पुष्टि भएका १२ जना हेटौंडा उपमहानगरपालिका भित्रका भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका अनुसार बिहीबार थपिएसँगै हेटौंडामा साउन १ गतेदेखि हालसम्म डेंगी संक्रमणको कूल संख्या ५४ जना पुगेको छ । जसमा २८ जना पुरुष र २६ जना महिला रहेका छन् ।

यस्तै, जिल्लामा साउन १ गतेदेखि बिहीबारसम्म ५८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । जसमध्ये २७ जना महिला र ३१ जना पुरुष रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।


Author

थप समाचार
x