विभिन्न मुलुक पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ
काठमाडौँ- वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका-६ घर भई काठमाडौँ महानगरपालिका-१५ बस्ने ५० वर्षीया एक माया पुलामी मगर, सुनसरी रामधुनी नगरपालिका-३ घर भई काठमाडौँ महानगरपालिका-३२ बस्ने ४० वर्षीय सन्दिपकुमार चौधरी र धादिङ थाक्रे गाउँपालिका-४ घर भई काठमाडौँ कलंकी बस्ने ४५ वर्षीय सालिक राम अर्याल रहेका छन् ।
उनीहरूमध्ये मगरले एक जनालाई पोर्चुगल पठाई कृषि कम्पनीमा मासिक १ लाख ३० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पटकपटक २ लाख ५६ हजार रुपैयाँ ठगी गरेको, चौधरीले एक जनालाई फ्रान्स पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख ५० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी २ लाख ५५ हजार रुपैयाँ ठगी गरेको र अर्यालले एक जनालाई क्रोसिया पठाई फुड डेलिभरीमा मासिक १ लाख ५० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ५० हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।
साथै उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले मगरलाई काठमाडौँ नयाँ बसपार्कबाट बुधबार, चौधरीलाई काठमाडौँ नयाँ बानेश्वरबाट बिहीबार तथा अर्याललाई काठमाडौँ टोखा नगरपालिका-७ बाट बिहीबार पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँमा पठाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया