'कर्मचारी घटाउने हो भने केन्द्रमा घटाउने हो, स्थानीय तहमा होइन'
काठमाडाैँ – राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव तोयम रायाले स्थानीय तहमा अथवा सेवा प्रवाह गर्ने ठाउँमा कर्मचारी घटाउन नहुने बताएका छन् ।
आइतबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सचिव रायाले तथ्याङ्कलाई व्यवस्थित गर्नका लागि हरेक जिल्लामा तथ्याङ्क कार्यालय राख्न र स्थानीय तहमा भएका कर्मचारी नघटाउनुपर्ने कुरामा जाेड दिएका हुन् ।
सचिव रायाले हरेक स्थानीय तहमा पनि कम्तीमा एउटा गणक राख्नुपर्ने जिकिर गरे । उनले तथ्याङ्क कार्यालयले स्थानीय तहसम्मको जनसंख्या दिने गरे पनि सम्बन्धित तहले आफ्नो जनसंख्या प्रमाणित गर्ने अवस्था नरहेको भन्दै गणक राखेमा स्थानीय तहको जनसंख्या प्रमाणित गर्न सहज हुने जनाए ।
सचिव रायाले राज्य सक्षम हुनलाई तथ्यांक प्रणाली व्यवस्थित हुनुपर्ने बताए । उनले कर्मचारी घटाउने हो भने केन्द्रको घटाउनुपर्ने उल्लेख गर्दै संघीयताको प्रत्याभूति दिलाउनका लागि स्थानीय तहका अथवा सेवा प्रवाह गर्ने ठाउँका कर्मचारी घटाउनु नहुने बताए ।
साथै सचिव रायाले राष्ट्रिय परिचयपत्र, मतदाता नामावली, कर, भन्सार, कृषि, श्रम लगायतका निकायहरूसँग आ–आफ्नो तथ्याङ्क रहेको भन्दै सबै तथ्याङ्कहरूलाई एकीकृत गर्न आवश्यक रहेको जानकारी गराएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया