दुई दिन अवरुद्ध मदन भण्डारी राजमार्ग एकतर्फी सञ्चालनमा
फाइल तस्बिर
कटारी (उदयपुर)- अविरल वर्षासँगै पहिरो गएपछि दुई दिनदेखि अवरुद्ध मदन भण्डारी राजमार्ग आज साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडकखण्ड शनिबार रातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
राजमार्गको उदयपुरगढी गाउँपालिका–६ स्थित मौवासीखोलाको पुल नजिकैको भित्ता नै पहिरो गएपछि अवरुद्ध सडक आज साँझ ५ बजेदेखि एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन कार्कीले बताए ।
कार्कीका अनुसार आज साँझदेखि एकतर्फी सडक सञ्चालनमा आएपछि सवारीसाधनहरू गन्तव्यतर्फ लागेका छन् । 'एकतर्फी सञ्चालनमा आएको छ, भोलिदेखि पूर्ण रूपमा सञ्चालनमा आउँछ,' उपरीक्षक कार्कीले भने, 'आज वर्षा रोकिएपछि बिहानैदेखि सडक खोल्ने काम भएको थियो ।'
गाईघाट–दिक्तेल सडक आयोजनाको एउटा लोडर, उदयपुरगढी गाउँपालिका र लामा शर्मा जेभीको जेसिवीले पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । पहिरोले ५० मिटरभन्दा बढी सडक पुरेको थियो ।
मुख्यगरी कोशी प्रदेशबाट राजधानी काठमाडौँ जाने छोटो बाटो सञ्चालनमा आएपछि यात्रुहरूलाई सहज भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाटो अवरुद्ध भएपछि पूर्वबाट आएका सवारीलाई गाईघाटदेखि लहान हुँदै बर्दिवासतर्फ पठाइएको थियो भने पश्चिमबाट पूर्व आएका सवारीलाई कटारीबाट सिरहाको मिर्चैया हुँदै पूर्व पठाइएको थियो । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया