समाज

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न शिक्षकहरूकाे माग

इकागज |
साउन ३१, २०८० बुधबार १७:५३ बजे

मकवानपुर । विभिन्न मागसहित आन्दोलनरत शिक्षकहरूले बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । 

लामो समयदेखि आन्दोलनरत उनीहरूले शिक्षा सम्बन्धी कानुन संशोधन गर्न माग गर्दै मन्त्री माेक्तानलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका सचिव महमद समीमसहितको टोलीले मन्त्री माेक्तानलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।


मन्त्रिपरिषदमा विचाराधीन रहेको शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक कुनै पनि सरोकारवालाहरूसँग छलफल र परामर्श बिना नै तयार गरेको ,विधेयक मस्यौदामा विद्यालय व्यवस्थापन समिति सम्बन्धी व्यवस्था त्रुटिपूर्ण रहेकोले सच्याउनका लागि माग गरिएको हो ।

विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावकको कुनै पनि सहभागिता संलग्नता र भूमिका नरहने गरी विधेयक मस्यौदा तयार भएको बुझिएकोले उक्त विधेयकको व्यवस्थाप्रति विद्यालय व्यवस्थापन समिति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सच्याउनका लागि माग गरिएको हो ।

वडा अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व दिने विधेयकको उक्त व्यवस्थाबाट सामुदायिक विद्यालयको मर्म माथि  प्रहार भएको, विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावक तथा समुदायको सहभागिताको अधिकार हस्तक्षेप भएको,सामुदायिक विद्यालय अभिभावक,समुदायको हातबाट खोसिएकों र समग्र सार्वजनिक शिक्षा प्रणालीलाई नै कमजोर बनाउने खेल भएकोमा विरोध जनाएका हुन् ।

उनीहरू यसका विरुद्धमा सरोकारवाला निकायमा धर्ना तथा ध्यानाकर्षण कार्यलाई जारी राखेका छन् ।  मकवानपुरको १० वटा स्थानीय तहको कार्यालयमा धर्ना सहित स्थानीय तह प्रमुखलाई ज्ञापनपत्र बुझाएको शिक्षक महासंघ मकवानपुरले शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयलगायतमा धर्ना तथा ध्यानाकर्षण पत्र बुझाएका छ । 

शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा पहिलो चरणको कार्यक्रम अन्तर्गत धर्ना दिएको हो । शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालले सरकारले शिक्षकहरूलाई सडकमा आउन बाध्य पारेको बताए । मागलाई सुनुवाइ नगरे शिक्षकहरूको सिंहदरबार घेर्न बाध्य हुने चेतावनी दाहालले दिए । 

शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेशप्रसाद हुमागाईले विभिन्न वैचारिक आस्थाभन्दा माथि उठेर शिक्षाको हितको लागि आन्दोलन गरिएको बताए । 

एकीकृत अखिल नेपाल शिक्षक संगठनका मकवानपुर अध्यक्ष वसन्त राई, अखिल नेपाल शिक्षक संघ मकवानपुर अध्यक्ष कृष्णबहादुर बिष्ट,हिष्टुन बागमती प्रदेश अध्यक्ष रामशरण पौडेल, राहत शिक्षक समिति मकवानपुर अध्यक्ष जीवन तिमल्सिनालगायतकाले अहिले आन्दोलन र सरकारको बलमिचाहीबारे आफूहरूको ध्यानाकर्षण भएको बताए ।


Author

थप समाचार
x