बेराेजगारी यति बढेछ कि ढलका ढक्कनसमेत चाेरिन थाले (सीसीटीभी फुटेजसहित)
काठमाडौँ- चाेरी गर्नु कसैकाे पनि रहर हाेइन । चाेरी आफैँमा गैरकानुनी भएकाले यस्ताे कार्य बर्जित छ र फाैजदारी कानुनकाे दायरामा आउँछ । चाेरी गर्नु एउटा बाध्यता पनि हाेला । बिहानकाे २ बजेकाे समयमा ढलकाे ढक्कन चाेरेर लैजाने दुई युवा इकागजकाे सीसीटीभीमा कैद भएका छन् ।
इकागज मिडिया कार्यालय अगाडिबाटै दुई युवकले ढलको ढकनी चोरी गरेकाे दृश्य सीसीटीभीमा कैद भएको हाे । गत सोमबार राति २ बजेर ५२ मिनेटमा काठमाडौँ महानगरपालिका ३१ को शान्तिनगरबाट दुई युवकले भित्री सडक खण्डमा राखिएको ढलको ढकनी चोरी गरेका हुन् । उनीहरूले ढक्न चाेर्नुअघि बिहान २ बजेदेखि रेकी गरेका थिए ।
इकागजको सीसी क्यामेरामा देखिएकाे दृश्य अनुसार पूर्व दिशाबाट एक युवकले सेतो हुक र अर्काले कालो रंगका लुगा र मुखमा मास्क लगाएका छन् । उनीहरूले केही समय ढलको ढकनीलाई उभिएर हेर्छन् । पश्चिम दिशातर्फ लागेका पुनः फर्केको क्यामेरामा देखिन्छ ।
भिडियोमा फर्केर आएका युवकले यताउता हेरेको देखिन्छ । सेतो हुक लगाएका युवकले सुरुमा ढकनीलाई तान्न पुग्छन् । त्यसपछि अर्का युवक ढकनीलाई उठाउन पुग्छन् । ढकनी लिएर दुई युवक कार्यालयको पूर्व दिशातर्फ लाग्छन् ।
चाँडबाडको सुरु हुनासाथ काठमाडौँ लगायतका अन्य स्थानमा चोरीको घटना बढ्न थालेको छ । समाजमा व्याप्त बेरोजगारी नै पहिलो कारण मान्न सकिने प्रहरी अधिकारीले बताउन थालेका छन् ।
चाडपर्वको समयमा चोरीका घटना बढ्ने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुमुद ढुंगेलले बताए । टोल-टोलमा हुने चोरीका घटना नियन्त्रण गर्न प्रहरीका गस्ती टोली खटिएको उनले जानकारी दिए ।
'चाडपर्वको समयमा चोरीका घटना बढ्ने भएकाले प्रहरी सचेत छ,’ उनले भने, 'तर, कतिपय अवस्थामा नियन्त्रणका योजना सार्वजनिक गर्दा चोरी गर्नेलाई झन सहज हुने र उनीहरूले थप नयाँ उपाय अपनाउने गर्छन् ।'
टोलमा उपस्थित कुनै पनि नयाँ मानिसले शंकास्पद व्यवहार गरेमा नजिकैको प्रहरीलाई खबर गर्न उनले सुझाव दिए । टोलका गल्ली-गल्लीमा रातिको समयमा हिँड्नेलाई विशेष निगरानी गरिएको उनको भनाइ छ ।
समाजमा चोरी तथा आपराधिक घटना नियन्त्रण गर्न नागरिकहरू सचेत र चनाखो हुनुपर्ने उनले बताए ।
त्यसैगरी, काठमाडौँ महानगरपालिका वडा ३१ अध्यक्ष सरोज ढकाललाई चोरीको घटना भएको जानकारी गराइएको थियो । उनले स्थानीयलाई ढकनी लिनका लागि बोलाएका थिए ।
तीन दिन बितिसक्दा पनि अध्यक्षले ढकनी नपठाएकोमा स्थानीयले गुनासो गरेका छन् । यसले पैदलयात्रुकाे ज्यान धरापमा परेको छ । केही वर्षअघि कीर्तिपुरमा यस्तै खाल्डाेमा परेर एक व्यक्तिकाे ज्यानै गएकाे थियाे ।
हेर्नुस् सीसीटीभी फुटेज:
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया