Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

समाज

बाल सुधार केन्द्र कि अभद्र व्यवहार केन्द्र ?

पुष्प श्रेष्ठ |
भदौ १९, २०८० मंगलबार १८:२ बजे

भक्तपुर- बाल सुधार गृह जहाँ १८ वर्षभन्दा कम उमेरमा जानी नजानी कानुनविपरीत कार्य गरी अदालतले दिएको सजायअनुसार चौघेरामा सुधारिन पुग्ने ठाउँ हो ।  यस्ता सुधार गृहहरू भक्तपुरलगायत अन्य आठ जिल्लामा पनि सञ्चालित छन् । गत असार मसान्तसम्म देशभरका बाल सुधार गृहहरूमा एक हजार ८३ जना बालबालिका रहेको तथ्यांकले देखाउँछ ।

यी बाल सुधार गृहहरू पनि कारागार व्यवस्थापन विभाग मातहतमा रहेका छन् । कानुनविपरीत कार्य गरेका बालबालिकाको उमेरलाई ध्यानमा राख्दै शारीरिक तथा मानसिक स्थितिमा असर नपर्ने गरी उनीहरूको आचरण र व्यवहारमा सुधार ल्याई चरित्रवान् नागरिक निर्माण गर्ने उद्देश्यले बाल सुधार गृहकाे स्थापना भएको हो ।


बाल सुधार गृह सञ्चालन र व्यवस्थापन गरेबापत नेपाल सरकारले युसेपलाई वार्षिक एक करोड अनुदान उपलब्ध गराउने गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

वार्षिक एक करोड रुपैयाँको अनुदानमा युसेपले चार वटा बाल सुधार केन्द्र सञ्चालन गर्दै आएको छ । यही अनुदानमा सञ्चालित भक्तपुरको बाल सुधार गृह, जहाँ भदौ ४ गते मध्याह्न बालकहरूले विद्रोह गरे । प्रहरीले हवाई फायर र रबरका गोली चलाउँदा परिस्थिति नियन्त्रणमा आउन नआउँदा थोरै संख्यामा रहेको प्रहरी पछाडि सर्न बाध्य बन्यो ।

सुधारिन गएका बालकहरू किन आन्दोलित बने ?

रामेछाप मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षीय कमल बस्नेत विगत ३ वर्षदेखि बलात्कारको केशमा सानो ठिमीमा रहेको सुधार केन्द्रमा थिए । विभिन्न समयमा बिरामी भइरहँदा पनि सुधार केन्द्रले वास्ता नगरेपछि सुधार केन्द्रका बालबालिकहरूमा आक्रोश पैदा हुन थालिसकेको थियो । भदौ २ गतेभन्दा अगाडिबाटै बिरामी बस्नेत बान्ता गर्ने, ज्वरो आउने र पीलोले थलिएका थिए ।

सुधार केन्द्रमा रहेका बस्नेतका साथी र आफन्तहरूले पनि युसेपका वार्डेनलाई उपचारका लागि आग्रह गरेका थिए । तर, वार्डेनले नसुने झै गरे । बस्नेत गत भदौ ३ गते अचेत अवस्थामा भेटिएपछि बाल सुधार केन्द्रका कर्मचारीहरूले मध्यपुर थिमि नगरपालिका–३ गट्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा पुर्याए । तर, बस्नेतले आफ्नो प्राण कुन बेला त्यागे कसैले पत्तो पाएनन् ।

त्यसपछि आफन्तहरूले विरोध सुरु गरे । गत भदौ ३ र ४ गते मृतक बस्नेतका परिवार र भक्तपुर जिल्ला प्रशासन कार्यालयबीच छलफल भयो । परिवारको एउटै माग थियो— बाल सुधार केन्द्रका सञ्चालकलाई अविलम्ब पक्राउ गरी कारबाही गर्ने । तर, प्रशासनले पीडितको कुरा नसुनेपछि भदौ ४ गते बिहानैदेखि बाल सुधार केन्द्र अगाडि मृतककाे परिवारले नाराबाजी सुरु गरे । सुधार केन्द्रभित्र रहेका बालकहरूले पनि मृतक साथीको न्यायका लागि लामबद्ध भएर मौन विरोध जनाइरहेका थिए ।

मौन विरोधमा रहेका बालकहरू एक्कासि आक्रोशित भए र तोडफोडमा उत्रिए । आक्रोशित बालकहरूलाई नियन्त्रण गर्न पुगेका सुरक्षाकर्मीहरू तिनै बालकहरूको आक्रमणमा परी घाइते भए ।

सुरक्षाकर्मीहरूलाई बचाउने क्रममा खोलिएको ढोका र पछाडितर्फ रहेकाे पर्खालबाट २ सय २१ जना बाल कैदीबन्दी भागे । जहाँ २९८ जना पुरुष र ४३ जना महिला रहँदै आएका थिए । त्यसै साँझसम्ममा भागेका मध्ये २ सय ४ जना प्रहरीको सम्पर्कमा आए भने बाँकीलाई प्रहरीको खोजतलासमा समातिए । हालसम्म २ सय ९६ जना बाल सुधार गृहमा आइसकेका छन् भने एक जना अझै फरार रहेको प्रहरीले बताएको छ । तिनै २ सय ९८ मध्ये थिए— मृतक कमल बस्नेत ।

बाल सुधार केन्द्र कि यातना दिने ठाउँ

नेपाल सरकारले जान अन्जानमा गरेका गल्तीहरूको प्रायश्चित गराई आगामी दिनमा असल र चरित्रवान् नागरिक बनाउन राखिने सुधार केन्द्रमा भएको ज्यादती एक सानो झिल्काेकाे रूपमा सानो ठिमी घटनालाई मान्न सकिन्छ ।

कमल बस्नेतको मृत्यु एक कारण हुन सक्ला । तर, सुधार केन्द्रभित्रका बालबालिकाहरूकाे गुनासाे सुन्ने हो भने कति कष्ट सहेर बसेका रहेछन् भन्ने स्पष्ट हुन्छ । न बिरामी पर्दा औषधि, न खाना पानी स्वस्थकर, न त खेल्ने सुविधा न त पढ्ने अवसर ।

बाल सुधार गृहमा युसेपको लापरबाही र प्रशासनको उदासीनताका कारण नै भदौ ४ गते शान्त सानो ठिमी बाल सुधार गृह रणमैदानमा परिणत भयो । यसको मुख्य दोषी बाल सुधार गृह सञ्चालन गर्नेहरू नै हुन् । तर, नेपाल सरकार, स्थानीय सरकार, प्रशासनलगायतले पनि ति बालबालिकाको गुनासो, समस्या सुन्न नचाहेका कारण बाल सुधार गृहमा विद्रोह हुन पुग्यो ।

घटना भएको धेरै दिन भइसक्यो । तर, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सानो ठिमी बाल सुधार केन्द्रको अनुगमनबाहेक केही गरेको छैन ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेकले) स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरिसकेको छ । त्यसमा पनि मुख्य दोषी बाल सुधार गृह प्रशासन नै रहेको देखाएको छ । प्रतिवेदनले बालसुधार गृहका सम्बन्धमा दीर्घकालीन रूपमा बालसुधार गृह व्यवस्थापनमा संलग्नहरूलाई अनुसन्धानको प्रक्रियामा ल्याउन, सुधार गृहभित्रको आन्तरिक व्यवस्थापनमा सुधार गर्न, भदौ ३ र ४ गतेको घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानबिन गर्न, सुधार गृहमा क्षमताभन्दा बढी बालबालिका नराख्ने व्यवस्था गर्न र १८ वर्षभन्दा बढी उमेर पुगेकाहरूलाई सुधार गृहमा बालबालिकासँग नराख्ने व्यवस्था गर्नु जरुरी देखिएको भनेको छ ।

अध्ययन प्रतिवेदनमा बाल सुधार गृहको सञ्चालनको जिम्मा सरकारले नै लिनुपर्ने र सुधार गृहलाई सुधार गृहकै रूपमा विकास गर्न आवश्यक भएको तथा सुधार गृहभित्र कारागारकै जस्तो भित्री सत्ताको अन्त्य गर्ने र बालमैत्री व्यवस्थापनमा जोड दिनु आवश्यक भएको उल्लेख छ ।

तर, भक्तपुर प्रशासनले बाल सुधार गृहका सञ्चालकलाई के कस्तो कारबाही वा सुझाव दियो घटना भएको १५ दिनसम्म पनि केही सार्वजनिक गरेको छैन ।  

नेपाल सरकारका सम्बन्धित निकायमाथि उठेका प्रश्न

के जान अन्जानमा गरेका गल्तीको सजाय भोगिरहेका बालबालिकाहरूको मनस्थितिमा यस्ता घटना र यातनाले चरित्रवान् नागरिक बनाएर समाजमा स्थापित गराउन सक्ला ?
बाल गृहको नाममा सरकार र दातृ निकायबाट लिएको अनुदानको उचित सदुपयोग गर्न नसक्नेलाई कानुनी दायरमा ल्याउन सरकार किन हिचकिचाउँछ ?
भाद्र ३ गते सुधारिन पठाइएका कमल कस्नेत (१८) को मृत्यु बाल सुधार गृहकै चरम लापरबाहीका कारण भयो, खै त कारबाही गरेको ?
कि सरकारले यस्ता घटना घटाउने संस्थाहरूको संरक्षण गरी कतै आपराधिक समाज निर्माणका लागि सहयोग त गरेको हैन ?
मृतक कमल बस्नेतका परिवारले पाएको क्षतिपूर्ति नै भाद्र ४ गते घटेको घटनाको अन्त्य हो र ?
बाल सुधार गृहको नियमित अनुगमन कसले गर्ने ? ती बालबालिकाहरूको गुनासोलाई फेरि नसुन्ने  ?
बाल सुधार गृहको घटना कमल बस्नेतको मृत्युपछि भएको विद्रोहमा नेपाल सरकारका सम्बन्धित पक्ष, जसले अनुगमनको जिम्मा लिएर बसेका छन्, तिनीहरूलाई कानुनी दायरामा ल्याउनु पर्दैन ?
सुधारिन गएका बालबालिकाले कमल बस्नेतकै नियति र पीडा सहेर मृत्युवरण गर्नुपर्ने दिनको अन्त्य कहिले ?
बाल सुधार गृहभित्र कैदी बालकहरूबीचकाे गुट उपगुटकाे अन्त्य कहिले ?
सुधार गृहभित्र किन निर्माण हुन्छ गुट उपगुट ?

यी र यस्ता प्रश्नहरू धेरै नेपाल सरकारतिरै सोझिन जान्छ । निजी संस्थाहरूलाई सञ्चालन गर्न दिएका यस्ता सुधार केन्द्रहरूले के संविधान र नियमको पालना कति गरेको छ मूल्यांकन छलफल गर्ने समय आइसकेको छ । बाल सुधार गृह भक्तपुरको घटना त एक सानो आगोको झिल्को मात्र हुन सक्छ । सञ्चालकहरूको मति नसुध्रिए सानो झिल्काेले कुनै न कुनै दिन तहसनहस बनाउन सक्छ भन्ने चेत खुल्न जरुरी छ ।


Author

थप समाचार
x