समाज

माउबाट छुट्टिएका पुष्पा र अञ्जली कोशी टप्पुमा रमाउँदै

इकागज |
मंसिर १८, २०८० सोमवार १७:५ बजे

काठमाडौँ- गत असोज ९ गते चितवन राष्ट्रिय निकुञ्जबाट कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएका पोथी गैँडा पुष्पा र अञ्जली यतिबेला कोशी टप्पुमा रहेका हात्ती र टप्पुका कर्मचारीसँग रमाउने गरेका छन् । माउबाट छुट्टिएको अवस्थामा फेला परेका पुष्पा र अञ्जली नामका गैँडाहरू कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएपछि उनीहरूलाई कोशी टप्पु वन्यजन्तु आरक्षको सप्तरीस्थित पथरी सेक्टरमा राखिएको छ, उनीहरूको स्याहारसुसारका लागि एक जना कर्मचारी खटाइएको छ ।

विगतमा गरिएका गैँडा स्थानान्तरण पूर्ण रूपमा सफल नभए पनि यस पटक कोशी टप्पुमा गरिएको स्थानान्तरण भने सफल हुने कैयन् आधार रहेको विज्ञ तथा संरक्षणकर्ताहरूको दाबी छ ।


कोशी प्रदेशको सुनसरी, उदयपुर र मधेश प्रदेशको सप्तरी जिल्लामा १७५ वर्ग किमी क्षेत्रफलमा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्षमा गैँडाका लागि वेटल्याण्ड र ग्रासल्याण्ड राम्रो भएको कोशी टप्पु वन्यजन्तु आरक्ष पथरी सेक्टरकी प्रमुख रेखाकुमारी मेहताले बताइन् । अहिले पुष्पा र अञ्जलीलाई राख्नका लागि कोशी टप्पु आरक्षको पथरी सेक्टरमा १६ फिट अग्लो, ८५ फिट लामो इन्क्लोजर बनाइएको छ ।

चितवनबाट कोशी टप्पु ल्याउँदा दुवै गैँडालाई स्याहारसुसार र सहजतामा निकै कठिन भएको भए पनि अहिले उनीहरूलाई सो क्षेत्रको रहनसहनमा सहज हुन थालेको छ । अहिले उनीहरू टप्पुका हात्ती संगै रम्ने गरेका छन् । उनीहरूलाई बिहान ६ बजे इन्क्लोजरबाट सोही क्षेत्रमा रहेको घाँसे मैदानमा बाहिर निकाल्ने गरिएको छ भने दिउँसो ११ बजे आरक्षको टप्पु क्षेत्रमा हात्ती संगै चराउन लैजाने गरिएको छ । साँझ ५ बजे भने उनीहरू आफैँ आफ्नो बासस्थान इन्क्लोजरतर्फ आउने गरेका छन् ।

पछिल्लो समय कोशी टप्पु पथरी सेक्टरमा रहेका हात्ती र स्थानीय कर्मचारी संगै रमाउँदै पुष्पा र अञ्जलीले आफ्नो दिनचर्या गुजार्दै आएका छन् । पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा निकै सहज हुने देखिएपछि चितवन राष्ट्रिय निकुञ्जबाट थप दुई पोथी र एक भाले गैँडा कोशी टप्पु ल्याउने तयारी गरिएको छ । यस संगै कोशी टप्पु वन्यजन्तु आरक्षमा गैँडाको संख्या ५ हुने छन् ।


Author

थप समाचार
x