पशुपतिमा हतियारसहितका सुरक्षाकर्मी : खुशीले दर्शन गरेका भक्तजन तर्सिँदै निस्किन्छन्
सांकेतिक तस्बिर
काठमाडौँ- मंगलबार बिहान सदाझैँ दर्शनार्थीको पशुपति मन्दिर परिसरमा भीडभाड थियो । अरू बेलाभन्दा विशेष दिन भएकाले पनि दर्शनार्थीको घुइँचो थियो ।
पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणका लागि प्रदर्शन गरिएको थियो । दर्शनार्थीको बाक्लो उपस्थिति थियो ।
मन्दिर प्राङ्गणमा भारतको पञ्जाबबाट आएका समर सिंह पशुपति मन्दिर परिसरमा फोटो खिच्दै गर्दाको अवस्थामा भेटिए । उनीहरूको कुराकानी गराइले नेपाल पहिलो पटक आएको जस्तो सुनिन्थ्यो । फोटो खिचाइको हाउभाउँले पनि त्यहीँ संकेत गरिरहेको थियो ।
पशुपति मन्दिर दर्शन गर्न जाने भाकल भएकाले पहिलो पटक काठमाडौँ आएको समरले बताए । एकपटक आउने इच्छा भोलेनाथले पुरा गरिदिएको उनको भनाइ थियो । शिव भगवान र पशुपतिनाथबारेमा राम्रो जानकारी भएकाले दर्शन गर्न आएको उनले बताए ।
उनी परिवारसहित आठ वर्षीया छोरी, श्रीमतीको साथमा पशुपतिको दर्शन गर्न आएका हुन् ।
‘बेटीको कुरा सुनेर छक्क परे,’ छोरीको भनाइ उद्दृत गर्दै सिंहले भने,’ मन्दिरमा प्रहरीले किन हतियार लिएर बसेका हुन् । मलाई त देख्दा पनि डर लाग्यो ।'
उनले पनि मन्दिर परिसरमा हतियारसहित सुरक्षाकर्मी नराख्दा राम्रो हुने सुझाव दिए । भित्र मन्दिर दर्शन गरेर आयो बाहिर निस्कने बेलामा हतियार देख्दा मनमा अर्को कुरा आउने उनको भनाइ छ ।
‘शिव भगवानको दर्शन गर्दा शान्त भएर आइन्छ तर बाहिर निस्कँदा मन तर्सिन्छ,' उनी भन्छन्, 'आध्यात्मिक तथा धार्मिकस्थलमा हतियार नराख्दा राम्रो हुन्छ । भगवान भएका ठाउँमा गोलीगठ्ठासहित प्रहरी उभिँदा दर्शनार्थीमा राम्रो सन्देश जाँदैन ।‘
चाबहिलबाट रुद्राक्ष हेर्न आएकी जानुका दाहालले अरूबेला मन्दिरमा ढोकामा हतियारसहितको प्रहरी उभिएको देखेको बताइन् । उनी मन्दिरको ढोकामा हतियार लिएर उभिएको मन नपरेको बताउँछिन् ।
‘दर्शनार्थी मन्दिरमा भगवानमाथि आस्था राखेर दर्शन गर्न आउँछन्,' उनले आक्रोशित स्वरमा भनिन्,’ दर्शन गर्न आएका हौँ र हतियार हेर्न आएका होइनौँ । हतियार देख्दा पनि मानसिक रुपमा हामीलाई फरक अनुभूति हुन्छ ।‘
भगवान र हतियार कहिले पनि सँगसँगै राख्न नहुने दाहालले सुझाव दिइन् । भारततिरको प्रसिद्ध तिर्थ धाम गएको छु तर त्यहाँ हतियारसहितको प्रहरी नदेखेको उनले बताइन् ।
मन्दिरको गेटमा भगवानको मुर्ति हुनुपर्ने तर हतियारसहितको प्रहरी उभिने गरेको उनको भनाइ छ । सरकारले दर्शनार्थीलाई मन्दिरमा हतियार देखाएर त्रास पैदा गराउन खोजेको उनले बताइन् ।
पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशंकर पराजुलीले पशुपति मन्दिर तथा पाशुपत क्षेत्र अन्तर्राष्ट्रिय धार्मिकस्थल भएकाले सुरक्षाका दृष्टिकोणले हतियारसहितका सुरक्षाकर्मी राख्नुपरेको बताए । मन्दिरमा बहुमूल्य वस्तुहरू भएकाले सुरक्षार्थ पनि सुरक्षाकर्मी खटाइएको उनको भनाइ छ ।
मन्दिर र दर्शनार्थीको सुरक्षाका लागि दिनभर पुर्वी र पश्चिम ढोकामा हतियारसहितका सुरक्षाकर्मी राखिएको उनले जानकारी दिए ।
‘ दर्शनार्थीलाई त्रसाउने हेतुले हतियारसहितको सुरक्षाकर्मी राखिएको होइन,' पराजुलीले भने,'सांकेतिक रुपमा मात्र हतियारसहितको सुरक्षाकर्मी राखेका हौँ ।‘
मन्दिरको सुरक्षाका निम्ति सांकेतिक रुपमा राखिएकाले यसलाई सामान्य ढंगले लिन सर्वसाधारण तथा दर्शनार्थीलाई उनले आग्रह गरे ।
‘कोही मानिस फरक नियतले मन्दिर प्रवेश गर्न लागेका छन् भने पनि हतियार देख्दा त्यस्ता व्यक्ति भित्र जान सक्दैनन्,' उनले अगाडि थपे,'मन्दिर तथा ऐतिहासिक क्षेत्रमा ठूला-ठूला घटना हुन सक्ने भएकाले सुरक्षाको दृष्टिकोणले राखिएको हो । दर्शनार्थीलाई त्रासमा राख्न हतियार राखिएको होइन् ।'
विश्व हिन्दु महासंघको अन्तर्राष्ट्रिय समितिकी कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले पशुपति मन्दिरको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर हतियारसहितको सुरक्षाकर्मी राखिएको हुन सक्ने बताइन् ।
गेटमा हतियारसहितको सुरक्षाकर्मी राख्न नहुने भण्डारीको भनाइ छ । मन्दिरमा महत्त्वपूर्ण वस्तु, बहुमूल्य तथा ऐतिहासिक सामग्री भएकाले सुरक्षाको दृष्टिकोणले विकास कोषले सुरक्षाकर्मी राखिएको हुन सक्ने उनको भनाइ छ ।
‘मन्दिरको मुख्यद्वारमा हतियारसहितको सुरक्षाकर्मी नराखी दायाँबायाँ राख्नुपर्ने हुन्छ,’ उनले सुझावसहित भनिन्,’ हतियारसहितका सुरक्षाकर्मीलाई निश्चित स्थान बनाएर राख्नुपर्छ । मुल गेटमा बिना हतियारका प्रहरी पनि राख्न सकिन्छ ।‘
उनका अनुसार अन्तर्राष्ट्रिय धार्मिकस्थल भएकाले बढी भीडभाड हुने गर्छ । चोरीका घटना हुन सक्ने भएकाले सुरक्षाकर्मी राख्दा न्यूनीकरण हुन सक्ने भण्डारीले विश्वास व्यक्त गरिन् । खराब नियत भएका मानिसलाई रोक्न सुरक्षाकर्मीको उपस्थितिले सहयोग पुग्ने उनले बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया