समाज

अन्तर्राष्ट्रिय उडान नहुँदा विदेशीको श्रम स्वीकृति घट्दै

निषेधाज्ञामा २८१ ले मात्रै लिए श्रम स्वीकृति

अतिन आचार्य |
जेठ २८, २०७८ शुक्रबार २०:५ बजे

फाइल तस्बिर : विभागमा श्रम स्वीकृति लिन आएका विदेशीहरू

काठमाडौँ : नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा पनि केही विदेशी नागरिक नेपालमा काम गर्ने अनुमति (श्रम स्वीकृति)  लिन आइरहेका छन् । न्यून उडान हुँदा पनि उनीहरू नेपालमा काम गर्न आइरहेकाे पछिल्लो तथ्यांकले देखाउँछ । यद्यपि कोभिड कहर यता भने यो संख्या घट्दो छ । 

वर्षको सुरुवाती दुई महिना निषेधाज्ञामा १७५ विदेशी नागरिकले नयाँ श्रम स्वीकृति लिएका छन् । १६४ पुरुष र ११ महिला छन् । ११६ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । पुन: श्रम स्वीकृति लिनेमा १०६ पुरुष र १० महिला छन् । कुल दुई सय ९१ जनाले श्रम स्वीकृति लिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ ।


चीन,भारत,बेलायत र दक्षिण कोरियाका बढी नागरिकले बढी श्रम स्वीकृति लिएका छन् । गत वैशाखदेखि हालसम्म चीन एक ७, भारत ७, क्यामरुन ७, दक्षिण कोरिया ८ र बेलायत ८ लगायतका नागरिकले श्रम स्वीकृति लिएका छन् ।

विभागका सूचना अधिकारी दिपक केसीले होटल, हाइड्रोपावर, शिक्षा, कारखाना र सडक निर्माण क्षेत्रमा काम गर्न अनुमति लिने गरेको जानकारी दिए । चिनियाँ नागरिकहररू हाइड्रोपावर र सडक क्षेत्रमा काम गर्न, पश्‍चिमा मुलुककाले शिक्षा विभिन्न आयोजनाका क्षेत्र र अफ्रिकन मुलुककाले खेल खेल्न पनि अनुमति लिने गरेको उनको भनाइ छ ।

भारतीयहरू चिकित्सा क्षेत्रमा काम गर्ने र केही बंगलादेशीहरू पश्‍चिम नेपालको कुखुरा फार्ममा काम गर्न अनुमति लिएका छन् । सुरुवातीमा ६ महिनालाई श्रम स्वीकृति दिने गरेको उनको भनाइ छ । विभागका अनुसार ६ महिनासम्मको श्रम स्वीकृति १५ हजार र एक वर्षसम्मको २० हजार रुपैयाँ शुल्क लाग्ने गरेको छ ।

कामदारको दक्षता अनुसार स्वीकृति दिने गरिएको छ । विशिष्‍ट दक्ष प्राविधिक र विदेशी श्रमिकलाई गरी बढीमा पाँच वर्ष र अन्य विदेशी श्रमिकलाई पटक-पटक गरी तीन वर्षसम्म स्वीकृति दिने व्यवस्था रहेको छ । सम्बन्धित मन्त्रालय अन्तर्गत काम गर्न विदेशी नागरिक आएमा उक्त मन्त्रालयको सिफारिसमा निशुल्क श्रम स्वीकृति दिने केसीले जानकारी दिए ।

नेपालीले श्रम स्वीकृति पाए पनि विदेश जान पाएका छैनन् 

नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा नेपाली कामदारले श्रम स्वीकृति पाए पनि विदेश जान पाएका छैनन् । गत वर्ष २०७६ चैतदेखि नेपालमा देखिएको कोभिडका कारण हजारौँ नेपाली कामदार सहजै विदेश जानबाट रोकिएका छन् ।

धेरै नेपाली कामदारले मलेसिया लगायत खाडी मुलुकलाई रोजगारीको मुख्य गन्तव्य स्थल बनाएका छन् । नेपाली श्रम बजार पनि विदेशीका लागि खुला गरेपछि विदेशी नागरिकहरूको काम गर्नेको संख्या बढ्दै गएको छ । तर कोभिडका कारण नेपालमा बसी काम गर्नेको संख्या घट्न थालेको छ ।

चीन, अमेरिका, बेलायत, जर्मनी, क्यामरोन, कतार, स्पेन, इजिप्ट, नाइजेरिया, फ्रान्स अष्ट्रेलिया र भारत लगायतका एक सय भन्दा बढी मुलुकका मानिसहरू श्रम स्वीकृति लिएर नेपालमा काम गर्ने गरेका छन् ।

महामारीले अन्तर्राष्ट्रिय उडान नहुँदा विदेशी नागरिकले नेपालमा आइ नयाँ लिने श्रम स्वीकृतिको संख्या घट्दै गएको छ । श्रम स्वीकृति लिनेको संख्या घटेसँगै राजश्‍व संकलनमा समेत प्रभाव पर्न गएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ ।

केसीका अनुसार गत आर्थिक वर्षमा करिब ४ करोड आम्दानी भएको छ । विदेशमा यसको प्रभाव परेका विदेशी नागरिक नआएकाले राजश्‍वमा कमी आएको केसीको भनाइ छ । नेपालमा विभिन्‍न समयमा आएका विदेशी नागरिकहरूले मात्र श्रम स्वीकृति लिने गरेको उनले बताए । 

गत वर्ष दुई हजार ७८३ विदेशी नागरिकले श्रम स्वीकृति लिएर विभिन्‍न क्षेत्रमा काम गर्ने अनुमति पाएका छन् । कोभिडका कारण विदेशीहरू नेपालमा आउनेको संख्या समेत घटेको विभागका केसीले जानकारी दिए ।

मासिक रूपमा सयभन्दा बढी विदेशी श्रम स्वीकृति लिन आउने गरे पनि पछिल्लो समय संख्या ह्वात्तै घटेको छ । अहिले दुई महिनाको संख्या जोड्दा बल्ल सय जना पुग्ने गरेको छ ।

'अन्तर्राष्ट्रिय उडान नहुँदा विदेशीको आगमन ठप्प रहेकाले थप गैर नेपालीले श्रम स्वीकृति लिन पाएका छैनन,' केसी भन्छन,' यहीँ बसेका र अन्य थोरै विदेशी नागरिकले मात्र श्रम स्वीकृति लिएका छन् । बढीजसो यहीँ काम गरी बसेकाले श्रम स्वीकृति नवीकरण लिएका छन् ।' 

विदेशीले श्रम स्वीकृति लिने प्रक्रिया 

सम्बन्धित मन्त्रालयको पत्र, गृह मन्त्रालयको कार्य सहमती, बायोडाटा, पासपोर्ट र भिसाको प्रतिलिपि, कम्पनीको करचुक्ता कागजपत्र, कम्पनी दर्ता प्रमाणपत्र, प्यान कार्ड, कम्पनीले खोजेको पत्रिकामा प्रकाशित विज्ञापन र सामाजिक सुरक्षा कोषमा दर्ता प्रमाणपत्र भएमा नेपालमा रहेका विदेशी कामदारले श्रम स्वीकृति सजिलै पाउँछन् । 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x