समाज

कोभिडमा ‘बेड’ उद्यम

सृजना खड्का |
असार १, २०७८ मंगलबार ७:४ बजे

काठमाडौँ : डेढ महिनायता प्रायः सबै व्यापार व्यवसाय ठप्प छन् । आइतबार मात्रै सरकारले पुनः एक हप्ता निषेधाज्ञा थप्‍ने निर्णय गरेको छ । यतिबेला विद्यार्थी, व्यापारी, जागिरे सबै फुर्सदमा छन् । तर, कोहलपुर, बाँकेका दुई युवा सतिश केसी र सुरेश बुढाथोकीलाई भने यो निषेधाज्ञामा पनि भ्याइनभ्याई छ । 

बुढाथोकी ल्याब टेक्निसियन हुन् भने केसी आइटीका विद्यार्थी । आफ्नै देशमा केही गरौँ भन्‍ने हुटहुटीले उनीहरूले बाँकेमा १४ महिना पहिला युनाइटेड एग्रो इन्जिनियरिङ प्रालि सुरु गरेका थिए । अस्पताललाई आवश्यक पर्ने ‘नर्मल बेड’देखि ‘आईसीयू बेड’सम्म बनाउने कम्पनी खोलेका उनीहरूलाई अहिले अस्पतालमा आवश्यक पर्ने भौतिक सामग्री बनाउने चटारो छ । 


यी दुई युवालाई अस्पतालमा प्रयोग हुने बेड भारत र चीनबाट आयात भएको पटक्कै चित्त बुझेको थिएन । ‘हामी आफैँले उत्पादन गर्न सक्ने कुरामा हाम्रो देशको पुँजी बाहिरिहरेको थियो,’ कम्पनीका प्रबन्ध निर्देशक बुढाथोकीले भने, ‘जुन हामीलाई पटक्कै चित्त बुझेको थिएन । बाहिर जाने पुँजी नेपालमै रोक्नुपर्छ भनेर यो काम थालेका हौँ ।’

यो कामको थालनी गर्दा उनीहरूलाई धेरैले धेरैथरीका प्रतिक्रिया दिए । ‘नेपालका कत्रा-कत्रा धनाड्य र व्यापारीले त गर्न सकेका छैनन्, तिमीहरूले के गर्छौ भनेर धेरैले भने,’ उनले सुनाए, ‘यस्तोमा हात हाल्दा डुबिन्छ, फसिन्छ भन्ने कुरा पनि सुनिएको थियो तर, हामीले हिम्मत हारेनौँ ।’

बाहिरी मान्छेले जेजस्तो भने पनि कम्पनी सुरु गर्दा उनीहरूलाई बैँक, परिवार र साथीभाइको भने सरसहयोग मिल्यो । यो कम्पनी खोल्न उनीहरूले पुँजीभन्दा पनि पहिला आँट र हिम्मत बटुले । ‘सुरुमा हामीले स-सानो आइटम बनाउन सुरु गरेका थियौँ,’ कम्पनीका अध्यक्षले केसीले भने, ‘अहिले हाम्रो कम्पनीले अस्पताललाई आवश्यक पर्ने सामान्य बेड, आईसीयू बेड, टेबललगायत २७० आइटम बनाउँछ ।’ 

उनले उत्पादनमा ७० प्रतिशत सामग्रीहरू नेपालकै प्रयोग हुन्छ । बाँकी ३० प्रतिशत भने नेपालमा बनाउन नमिल्ने र नपाइने भएकाले बाहिरबाट ल्याउँछन् । आफूहरूले उत्पादन गरेको सामग्री अस्पतालले मन पराउलान् नपराउलान् भन्ने चुनौती सुरुमा उनीहरूलाई थियो ।  ‘अस्पतालले मन पराउने हो वा होइन भन्ने थियो,’ उनले भने, ‘नेपाली उत्पादनलाई माया गरिदिनुस् भनेर थुप्रै अस्पतालमा गयौँ । हामीले गुणस्तरमा सम्झौता नगरेको हुनाले पछि एक्कासी माग बढ्न थाल्यो ।’

पछिल्लो समय उनीहरूले उत्पादन गरेका अस्पतालका भौतिक सामग्रीको माग बढ्दो । माग नेपालबाट मात्र नभएर, भारतबाट उत्तिकै छ । ‘कोभिडले गर्दा माग ह्वात्तै बढेको छ,’ बुढाथोकीले भने, ‘तर, माग अनुसारको जनशक्ति हामीसँग छैन । त्यसैले डिमान्ड अनुसारको सप्लाई गर्न सकिरहेका छैनौँ ।’ 

उनीहरूको कम्पनीले हाल भारतिय र नेपाली गरेर ४० जनालाई रोजगारी दिइरहेको छ । ‘धेरैभन्दा धेरै नेपाली जनशक्तिलाई सक्षम बनाउने हाम्रो उद्देश्य छ,’ उनले भने, ‘भारतबाट आएका दक्ष जनशक्तिले नेपाली कामदारलाई सिकाइरहेका छन् । तीन/चार महिनाभित्र मागअनुसार सामान बजारमा पुर्‍याउने लक्ष्य छ ।’ यद्यपि, उनीहरूको कम्पनीले कोभिड कालमा हजारौँ क्‍वारेन्टाइन, आइसोलेसन र आईसीयू बेडहरू बजारमा पुर्‍याइसकेको छ ।

उनीहरूले ग्राण्डी इन्टरनेशनल अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, गण्डकी मेडिकल कलेजलगायत देशका प्रमुख अस्पतालहरुमा आफ्नो सेवा दिइसकेका छन् । आगामी दिनमा भारत र चीनबाट आयतित अस्पतालमा प्रयोग हुने भौतिक सामग्रीलाई विस्थापन गरी नेपाललाई आत्मनिर्भर बनाउने सोच उनीहरूको छ । उनीहरूको कम्पनीले आइएसओ गुणस्तर चिन्ह पनि पाइसकेको छ ।


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x