समाज

एसईई खारेज गर्न सरकारको आनाकानी, अध्यादेश ल्याएर ऐन सच्याउन शिक्षाविदको माग

इकागज |
असार १, २०७८ मगलवार ८:२५ बजे

फाइल फोटो

काठमाडौँ : माध्यामिक शिक्षा परीक्षा एसईई संविधानले नै खारेज गरेपनि सरकारले निरन्तरतामा सघाइ रहेको शिक्षाविज्ञ तथा सरोकारवालाहरुले बताएका छन् । अध्यादेश ल्याएर भए पनि एसईई खारेज गर्न ढिलाई गर्न नहुने उनीहरुको धारणा छ ।

शिक्षा मन्त्रालय र मन्त्रिपरिषदले केही कर्मचारीलाई जागिर खुवाउन र विद्यार्थीबाट रकम उठाउन मात्रै एसईई बाध्यकारी रुपमा सञ्चालन गरिरहेको उनीहरुको आरोप छ । साथै उनीहरुले एसईईलाई सामान्य तबरबाट सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिनुपर्ने सुझाव पनि उनीहरुले दिएका छन् । 


शिक्षा पत्रकार समुहले सोमबार आयोजना गरेको एसईई अब के गर्ने ? विषयक शिक्षाबारको दोस्रो श्रृंखलाको भर्चुअल अन्तरक्रियामा बोल्दै शिक्षाविद डा. विद्यानाथ कोइरालाले एसईई खारेज गर्न शिक्षा मन्त्रालयले आनाकानी गरिरहेको बताए । अध्यादेश ल्याएर तत्कालै एसईई खारेज गर्नुपर्नेमा उनको जोड छ । 

अध्यादेश जारी गरेर सबैको सहमतिमा एसईईलाई स्कूलमार्फत नै गर्न दिन डा. कोइरालाले सुझाव दिए । अबको शिक्षा ऐनमा एसईई परिक्षा खारेज गर्नेबारे व्यवस्था लबिङ गर्न जरुरी भएको उनको भनाई छ । 

यस्तै अर्का शिक्षाविद् प्रेम फ्याकले एसईईको आवश्यकता नै नभएकाले यसलाई खारेज गर्नुपर्नेमा मन्त्रालयले ढिलाई गरिरहेको बताए । उनले परीक्षा भनेको खेलाँची गर्ने कुरा नभएकाले यसको जिम्मा विद्यालयलाई दिनु पर्ने धारणा राखे ।   

‘परीक्षाले गुणस्तर जाँच्न सक्छ । तर गुस्तरीयता कायम गर्दैन । विद्यार्थीको सिकाईबारे शिक्षक जानकार हुनेभएकाले यसमा सरकारले जान्ने कुरा होइन । अब कक्षाकोठाको सिकाइ कस्तो छ, यसका आधारमा मूल्याङ्कन गर्नुपर्छ । विद्यार्थीको भाषिक, गणितीय र सामाजिक सिकाइको अवस्थाको आधारमा मूल्याङ्कन हुन जरुरी छ’ फ्याकको भनाई छ । 

बुटवलको कालिका माविका पूर्व प्रधानअध्यापक घनश्याम पाठकले विगतदेखी एसईई खारेज हुनुपर्छ भन्ने मान्यता राखे पनि सरकारी तहको निर्देशन अनुसार चल्न बाध्य भएको बताए । यो परिक्षाबाट विद्यार्थीलाई तनावको स्थिति सिर्जना गर्नेमा अभिभावक र सबै सरोकारवालाले वातावरण तयार पारेको भन्दै पूर्वप्रअ पाठकले एसईईमा अंक, ग्रेड लगायतबारे चर्चा हुँदा विद्यार्थीमा थप दबाब परेकाले सृजनात्मकतामा ह्रास आएको अनुभव सुनाए ।

यसैगरी, रत्नराज्य लक्ष्मी मावि, काठमाडौंका पूर्व प्रधानाध्यापक डा. गिता खरेल शिवाकोटीले एसईईलाई बारम्बार फलामेढोका भनेर अभिभावक तथा विद्यार्थीलाई त्रासमा पार्न नहुने बताए ।
कार्यक्रममा नेपाल शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले परम्परागत एसईई र गतवर्षको एसईईका विद्यार्थीको अहिलेको अवस्थाको अध्ययन गर्नुपर्ने बताए । अहिले विद्यालयले परीक्षाको तयारी गरिरहेको बताउँदै उहाँले सामुदायिक विद्यालयले मुल्यांकनपछिको नतिजा दिँदा केही मापदण्डको ख्याल गरेको तर नीजि विद्यालयको मनोपोली समेत भएको टिप्पणी गरे । 

कोभिड १९ का कारण यस वर्षको एसईई परीक्षा स्थगित गरेर आन्तरिक मूल्यांकनबाट नतिजा निकाल्न राष्ट्रिय परीक्षा बोर्डलाई सरकारले दिएको निर्देशन अनुसार वोर्डले कार्यविधि बनाइसकेको छ । शिक्षक, शिक्षाविद्, पत्रकार लगायत झण्डै ४५ जना शैक्षिक सरोकारवाला सहभागि भएको भर्चुअल कार्यक्रमको सहजीकरण शिक्षा पत्रकार समुहका कार्यसमिती सदस्य विष्णु विश्वकर्माले गरेका थिए । 


Author

थप समाचार
x