समाज

वैदेशिक रोजगारमा विभिन्‍न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

इकागज |
बैशाख २७, २०८१ बिहीबार १६:५८ बजे

फाइल फाेटाे

काठमाडौँ - वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

 पक्राउ पर्नेहरुमा गोरखा गण्डकी गाउँपालिका–२ बस्ने ३८ वर्षीय वकिलबहादुर आले र तनहुँ ऋषिङ  गाउँपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु बस्ने ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । 


उनका अनुसार पक्राउमध्ये वकिलबहादुर आलेले क्यानडा पठाइदिने भन्दै छ जना पीडितहरू रु ३६ लाख तथा धर्मेन्द्रले युके पठाइदिने भन्दै दुई जना पीडितहरुबाट रु नौँ लाख ५० हजार ठगी गरेको खुल्न आएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले वकिलबहादुरलाई जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा गाउँपालिका–६ बाट र धर्मेन्द्रलाई  काठमाडौँ गोङगबुबाट पक्राउ गरेको प्रवक्ता रेग्मीले बताए । 

 पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x