समाज

ग्राउण्ड जिरो रिपोर्ट:

जब मेलम्‍चीबासीको अनुमान फेल खायो...

विष्णु विश्‍वकर्मा |
असार ३, २०७८ बिहिवार ८:२३ बजे

बाढीले सोत्तर भएको मेलम्ची बजार, पक्की, पुल, झोलुंगे पुल रहेको क्षेत्र ।

मेलम्ची : मंगलबारको दिन सामान्य थियो । बिहान हल्का बादल । फाट्टफुट्ट वर्षा । दिउँसो घाम । फेरि वर्षा । यो एक हप्तादेखिको ताजा तस्बिर हो । सिन्धुपाल्चोक मेलम्चीमा पनि यस्तै मौसम थियो । दिन सामान्य थियो ।

वर्षायाम भएकाले हल्का पानी पर्नु झन् सामान्य हो । पानी परेपनि केही समय दर्किन्थ्यो । पानी दर्केपनि मेलम्ची सामान्य थियो । अलिअलि गाडी र बाइक चलेकै थिए । निषेधाज्ञा भएपनि मानिसहरू हिँडडुल गरिरहेकै थिए । आफ्नो दैनिकी चलाइरहेका थिए । मंगलबार बिहानदेखि दिउँसो तीन बजेसम्म मेलम्ची यस्तै रह्यो  ।


तर ४ बजेपछि मेलम्चीकाे दृश्‍य बदलियाे । खोलामा पानीको बहाब बढ्दै गयाे । आफ्नो सानो बाटो बग्‍न छाडेर मेलम्ची खोला बजारको बस्तीसम्म आइपुग्यो । बाढी अचानक आएको थियो । 

चार बजे बढेको मेलम्ची खोला पाँच बजे केही घट्यो । चार बजेकै बाढी पनि ठूलाे थिएन । त्यसकारण पनि मेलम्‍चीबासी डराएनन् । डरलाई जितेरै खाेलाकाे बगरलाई सिरानी बनाएर उनीहरु निदाउँथे । त्‍यसमाथि यसभन्दा पहिले कहिल्यै ठूलो बाढी आएको थिएन । यसपटक पनि बाढी नआउने मेलम्‍चीबासीकाे अनुमान थियो ।

तर उनीहरूको अनुमान फेल खायो । चार बजे आएको बाढी पाँच बजेसम्म केही घट्याे । घरको जगमा पानी आइसकेको थियो । तर ठूलाे विपद् आउने कुरा उनीहरुले साेचेनन् । 

तर रात पर्दै जाँदा ७ बजेसम्म बाढीले मेलम्ची बजार पुरै डुबाउन थाल्यो । त्यसपछि किनारका मानिसहरू भाग्‍न थाले । ८ बजे राति पर्दा त बजारका सबै मानिस घर छाडेर माथि डाँडामा आइसकेका थिए ।

राति अचानक ठूलो बाढी आएपछि उनीहरूले केही पनि सामान निकाल्न पाएनन् । मात्रै जीउ ज्यान बचाउन उनीहरू घरबाट भागे । ज्यान बचाउन घरबाट भागेर उनीहरू डाँडामा त आए । तर बिस्तारै बिस्तारै हेर्दाहेर्दै उनीहरूको घर, टहरो, बजारको सबै सामान बाढीले डुबायो, र पछि बगायो ।

‘चार बजे आएको बाढी घटेपछि हामी अब आउँदैन भनेर खाना पकाएर खाने तयारीमा थियौँ’ मेलम्ची बजारकी स्थानीय गायत्रीदेवी अधिकारीले आफ्नो घर देखाउँदै भनिन्, ‘तर अचानक घरै डुबाउन थालेपछि ज्यान बचाउन भाग्यौँ । भागेर ज्यान त बचायौँ । घर सम्पति सबै बगाइहाल्यो ।’

फोन सम्पर्क टुट्यो, पुल भत्कियो 

विपद् बाजा बजाएर आउँदैन् । मेलम्चीबासीले यो कुरा सुनेका थिए । तर भोगेका थिएनन् । मंगलबार आँखा अगाडि यी सबै विपत्तिको उनीहरूले मन ढुंगा बनाएर सामना गरे । बाढीले आफ्नै घर बगाएको टुलुटुलु हेर्नेबाहेक अरु विकल्प उनीहरूसँग थिएन । तर राम्ररी त्‍याे पनि हेर्न पाएनन् ।

बाढी आउनेवित्तिकै केही बिजुलीका पोल ढले । बत्ती गयो । चारैतिर अध्याँरो । मोबाइलको लाइट बालेर उनीहरू धेरैजसो घरबाट निस्के । ज्यान जोगाए । माथि डाँडामा रहेको इन्द्रेश्वरी माध्यामिक विद्यालयमा आश्रय लिए ।

जब रात बढ्दै गयो । बाढी पनि शक्तिशाली बन्दै गयो । बाढीको पहिलो निशाना मेलम्ची बजार डुबाउने थियो । सँसाझैँ डुबायो । साना घर टहरा भत्कायो । बगाएर लग्‍यो । त्यसपछिको निशाना पुल बन्यो । 

मेलम्ची बजारबाट नवलपुर-चौतारा जाने दुई वटा पुल छन् । एउटा झोलुंगे । जुन २०६५ सालतिर बनेको स्थानीय बासिन्दा बताउँछन् । अर्को पक्की पुल । जहाँबाट गाडी ओहोरदोहोर गर्थे ।

राति १२ बजे दुबै पुल बाढीले भत्कायो । स्थानीय गायत्री अधिकारीका अनुसार राति बजेतिर पुल भत्किएको आवाज सुनिएको थियो । पहिले झोलुंगे पुल भत्किएर पछि पक्की पुल बाढीले भत्‍काएकाे उनीहरूको अनुमान छ ।

मंगलबार दिउँसोसम्म ओहोरदोहोर गर्न मिल्ने दुवै पुल बुधबार बिहान नामोनिसान थिएनन् । मेलम्ची बजार पुरै डुबेको थियो । केही पक्की घर आधा सग्‍लो थिए, बाँकी सबै डुबेका । धेरैजसो बगाइसकेको थियो ।

राति बाढी आउँदा घर छाड्न नमान्‍नेहरूलाई बिहान ८ बजेपछि सेनाको हेलिकोप्टरले उद्धार गर्‍यो । बेलुकी नै बाढीले बजार डुबाउन लागेपछि सबैजना भागेकाले कसैको ज्यान जान पाएन । घर तथा होटलमा फसेकाहरू पक्की चार पाँच तले घरमा थिए । जसकारण उनीहरू जोगिए । 

सडक सञ्जाल विच्छेद

काठमाडौँमा असाध्यै सुनिएको । मेलम्ची खानेपानी आयोजनाका कारण सधै चर्चामा रहेको मेलम्ची बजार सिन्धुपाल्चोकको पूर्वी क्षेत्रको केन्द्र मानिन्छ । चौतारा सदरमुकाम भएपनि यो उनीहरूका लागि धेरै टाढा हो । पूर्व तर विकट क्षेत्रको लागि मेलम्ची बजार केन्द्र हाे ।

जसकारण त्यहाँ बसपार्क बन्यो । पक्की पुल निर्माण भयो । बगरमा भएपनि बस्ती बस्यो । व्यापार व्यवसाय चल्यो । मानिसहरू विस्तारै व्यवसाय बढेपछि नदी किनारको बालुवा र बगरमै भएपनि पक्की घर हाल्न थाले ।

यसरी बजारमै सानो टहरा हुँदै बस्‍ने घर हाल्ने क्रम २०४० सालदेखि सुरु भएको हो । स्थानीय कृष्णबहादुर सुनारका अनुसार २०५० सालदेखि त्यहाँ टहराबाट ठूला घर बन्‍न सुरु भएका हुन् । मेलम्चीमा कहिल्यै ठूलो बाढी नआउने भएपछि उनीहरूले पक्की घर हाल्न थालेका थिए । जुन क्रम साठीको दशकमा पक्की घरबाट पनि बगरमै महलमा परिणत भए ।

तर मंगलबारको बाढीले घर बगायो । पुल भत्कायो । रेडियो मेलम्चीको तीन तले भवन पनि डुबायो । बसपार्क सबै बगाएर बगर बनायो । केही बाँकी राखेन । मेलम्ची जहाँबाट बग्दै आयो । तिम्बु, चनौटे, हेलुम्बमा वितण्डा मच्चायो ।

अनि मेलम्चीको किनारै किनारबाट जाने सडक सञ्जाल टुट्यो । मंगलबार राति नै मेलम्ची-हेलम्बु सडक सञ्जाल टुटेको हो । मेलम्चीको बाढीले सडक भत्काएको छ । सोही कारण एक मात्रै सोही बाटो पनि बन्द भएपछि हेलम्बु, चनौटे, तिम्बुलगायतका क्षेत्रमा भएको क्षतिबारे सञ्चारमाध्यमले जानकारी पाउन सकेनन् ।

काठमाडौँबाट दर्जनौ पत्रकार स्थलगत रिर्पोटिङका लागि मेलम्ची बजार पुगे । तर बजारमै बाइक तथा गाडी राखेर उनीहरूले मेलम्चीको स्कुलमा बसेका मेलम्चीकै बाढीपीडितलाई भेटे । त्यहीबाट उनीहरूले समाचार सम्प्रेषण गरे ।

बाढी कसरी आयो, थाहा छैन !

हरेक विपद्‌ झेलेकालाई त्यसको कारण थाहा हुन्छ । मेलम्ची बासीलाई यत्ति मात्रै थाहा छ, बाढीले विचल्ली बनायो, उठिबास लगायो । नपत्याउँदो खोलाले उनीहरूको सारा सपना हुरीझै एकैरातमा उडाएर लग्यो । तर अहिलेसम्म थाहा छैन, बाढी कसरी आयो ? के कारण आयो ? जबकी बाढीले घर बगाउने खालको वर्षा मेलम्चीमा भएकै थिएन ।

बजारबाट झण्डै १५ किलोमिटर टाढा रहेको मेलम्ची खानेपानी आयोजना माथिबाट पहिरो खसेर बाँध फुटेकाले बाढी आएको भन्‍नेहरु धेरै छन् । तर खास कारण उनीहरूले पत्तो पाएका छैनन ।

बाढी आउँदा मेलम्चीमा सम्पर्क गर्ने मोबाइल टावर भएन । मोबाइल चार्ज गर्ने बत्ती थिएन । झण्डै २४ घण्टासम्म उनीहरू जानकारीभन्दा बाहिर रहे । एनसेल बाहेक त्यो क्षेत्रमा मोबाइलले काम गरेन ।

जसकारण बाढी कसरी आयो ? भन्‍ने कुरा नै उनीहरूलाई पत्तो छैन । बाढी आउँदैछ भन्‍ने सूचना पनि उनीहरूले भरपर्दो पाएका थिएनन् । हेलम्बुमा रहेको प्रहरी, सशस्त्र र सेनाकै क्याम्प बगाएर लगेपछि मेलम्चीमा रहेको इलाका प्रहरी कार्यालयले माइकिङ गरेर बजार क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थान डाँडामा जान भनेको थियो । त्यसबाहेक उनीहरूलाई थप जानकारी छैन ।

मात्रै आफ्‍ना अगाडि बर्बादी छ । विपद् छ । बजार र बस्ती बगर बनेको छ । सपना बाढीले उडाएको छ । सास छ । तर गाँस र बाँस टुंगो छैन । 

‘भन्‍न त माथि पानी पर्‍यो, ड्याम फुुट्यो भन्छन्’ इन्द्रश्वेरी माविमा आश्रय लिएकी तीर्थमाया श्रेष्ठले इकागजसँग भनिन, ‘तर अहिलेसम्म यत्रो ठूलो बाढी कसरी आयो ? थाहा छैन ।’

आफ्नो पक्की घर, गाडी, घरका सबै सामान लगेको उनी बताउँछिन् । एउटा गाडी त उनीहरूको बसपार्कमा थियो । त्यो बाढीले बगायो । अहिले बसपार्कको नामोनिसान छैन ।

बाढी हेर्नेको लहर, सेल्फी खिच्‍ने रहर 

बुधबार बिहानैदेखि मेलम्चीमा बाढी हेर्नेको लहर लागेको छ । जुन लहर बिहीबारसम्म पनि छ । बाढीले मेलम्ची बजार बगाएपछि माथि डाँडामा बसेर बाढी हेर्ने, बाढीको अनुगमन गर्नेदेखि सेल्फी खिच्नेसम्मको भीड मेलम्चीमा लागेको छ ।

बाढीपीडित आफ्नो घर डुबाएको, बगाएको हेर्न नसकिरहेका बेला काठमाडौँदेखि नै आएका धेरै मानिस बाढी हेर्न र सेल्फी खिच्न व्यस्त देखिन्थे । बुधबार बिहानैदेखि मेलम्ची बजारको डाँडामा सयौँ संख्यामा मानिसहरू थिए । जो डाडामाथिबाट लस्करै लागेर मेलम्ची बजार डुबाएको, बगाएको दृश्य हेरिरहेका थिए । 

मेलम्चीबाट इन्द्रवती जाने पुलमाथि चढेर सेल्फी खिच्नेको भीड लागेपछि सशस्त्र प्रहरीको एक टोली नै परिचालन गरिएको छ । जुन पुलबाट बाढीमा लेदो बगेको राम्रोसँग देख्‍न सकिनछ ।

पुलको बीच भागबाट हेर्दा मेलम्चीको बाढीको इतिवृतान्त देखिन्छ । जहाँबाट बाढीमा आधा डुबेका घर देखिन्छन् । मेलम्ची बजारको सबै दुःख देखिन्छ । बाढी मात्रै होइन, लेदोको तह-तह देखिन्छ ।

जुन पुलमा सयौँ मानिस चढेर सेल्फी खिच्दा पुल नै जोखिममा परेको छ । त्यसबाहेक मेलम्चीको बजारदेखि तल पाँच सय मीटरको वरपर मानिसहरू छपक्क छन् ।

जसकारण मेलम्ची बजारको मुख्य सडकमा झण्डै पाँच घण्टा ट्राफिक जाम भयो । हजारौँ मोटरसाइकल र सयौँ गाडी मेलम्ची पुगेका छन् । जसकारण भीड नियन्त्रण गर्न ट्राफिक प्रहरीलाई्र हम्मे हम्मे परेको छ ।

तथ्यांक संकलनमा समस्याः संघ संस्थाको ओइरो, रमिते बने जनप्रतिनिधि 

मेलम्ची बजारबाट दुई सय मीटरकै दुरीमा मेलम्ची नगरपालिका छ । जो किनारकै माथि डाँडामा छ । पक्की भवनको । तर त्यो भवनमा बस्‍ने जनप्रतिनिधिले बिहीबार बिहानसम्म बाढीबाट कति विस्थापित भए ? एकिन तथ्यांक निकालेका छैनन । 

क्षतिको विवरण अहिलेसम्म संकलन भएको छैन । बाढीकै कारण तथ्यांक संकलनमा समस्या भएको छ । यद्यपी बाढी आउने सूचना पाएलगत्तै उनीहरुले मेलम्ची बजारको बगर क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थानमा जान प्रहरीमार्फत माइकिङ गराएका थिए ।  

बाढी पीडित इन्द्रेश्वरी माविमा आश्रय लिएर बसिरहेका छन् । राहत लिएर काठमाडौँबाट दर्जन बढी संघ सस्था पुगिसकेका छन् । उनीहरूले बुधबारदेखि नै राहत वितरण सुरु गरेका छन् ।

एमाले निकट विद्यार्थी भ्रातृ संगठन अनेरास्ववियूले एक ट्रक खाद्यान, लत्ताकपडा लिएर बाढीपीडितलाई बुधबार बेलूकी हस्तान्तरण गरेको छ । यस्तै पीडितको सहयोगका लागि हाम्रो टिम नेपाल पनि पुगेको छ । उनीहरूले पीडितलाई परामर्श दिनुका साथै भोलेन्टियर बनेर सहयोग गरिरहेका छन् ।

उद्धारका लागि सेफ्टी रेस्क्यु संस्था पनि पुगेको छ । जसले उद्धार सामग्रीसहित बाढी पीडित बसेको स्कुलमा टेन्ट गाडेर बसेको छ । रेडक्रस, आइसीआरसी लगायतका संस्थाहरू पनि राहत लिएर पुगेका छन् । उनीहरूले स्थानीयले दिएको अनुमानित तथ्यांक संकलन गरिरहेका छन् । त्यही अनुसार राहत वितरण गरिरहेका छन । 

हेलिकोप्टरबाट उद्धार, सभामुख र स्वास्थ्यमन्त्रीको स्थलगत निरीक्षण

सिन्धुपाल्चोक, सभामुख अग्‍नि सापकोटा र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङको गृह जिल्ला हो । मेलम्चीमा मंगलबार नै बाढी आएको सूचना उनीहरूले पाएका थिए । तर बुधबार बिहान मात्रै उनीहरू स्थलगत निरीक्षणका लागि मेलम्ची पुगे ।

उनीहरू पुग्दा सेनाको हेलिकोप्टरले घर तथा होटलको छतमा फसेकाहरूको उद्धार गरिरहेको थियो । बुधबार दिउँसोभरी सेनाको हेलिकोप्टरले मेलम्चीको आकाशमा दर्जनौ फन्का लगायो ।

उद्धारका लागि सेनाका दुई वटा हेलिकोप्टर मेलम्ची पुगेका थिए । एउटा निजी कम्पनीको हेलिकोप्टर बेला बेला आकाशमाथि उडेको देखिन्थ्यो । सेनाको हेलिकोप्टरले हेलम्बु र चनौटेमा फसेका मानिसहरूको उद्धार गरेको देखिन्थ्यो । बुधबार दिउँसोसम्म हरेक १० मिनेटमा सेनाको हेलिकोप्टरले मेलम्चीको आकाशमा फन्को लगाउँथ्यो ।

सडक सञ्जाल टुटेकाले सभामुख सापकोटा र स्वास्थ्यमन्त्री तामाङ मेलम्चीबाट फर्किए । मेलम्ची तामाङकै निर्वाचन क्षेत्र हो । यस्तै नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत पनि सिन्धुपाल्चोक पुगेका थिए ।

र, यो पनि


Author

थप समाचार
x