समाज

स्थलगत रिपोर्ट

मन जलाएर घर बगेको दृश्य हेर्दैछन् मेलम्चीवासी

विष्णु विश्‍वकर्मा |
असार ३, २०७८ बिहीबार १४:४० बजे

मेलम्ची : गायत्री अधिकारीको आधा जीवन सुखसयलमै बित्यो । न कुनै आशा । न कुनै भरोसा । खोला छेउकै मेलम्ची बजारको सानो टहरोमै उनको खुसी भरिएको थियो । खास घरचाँहि मेलम्ची नगरपालिका ७ दुबाचौर हो ।

उनको सानो पसल थियो । टहरा जस्तै । माथि जस्तापाताले छाएको । तल ढुंगाले पर्खाल हालिएको । सिमेन्टकै घर बनाउने इच्छा त थियो । तर पैँसा पुगेन । पैँसा कमाएर सिमेन्टकै घर हाल्ने सपना ठूलो सपना थियो ।


तर असारे झरीमै उनको बस्ने टहरो समेत चुडेर लगिदियो । यो कुनै योजनावद्ध थिएन । न त गायत्रीको सोचाइ नै । मेलम्चीको काखमै बसेका उनीहरू वर्षौदेखि एउटै विश्वासमा थिए । मेलम्ची बढ्दैन । यसरी बौलाउँदैन । शान्त मेलम्चीले काठमाडौँको प्यास मेटाउँछ । सिन्धुपाल्चोकमा केही गर्दैन् । तर सबै सोच कहाँ मिल्छन् र ? 

मंगलबार चार घण्टामा गायत्रीको सपना मेलम्चीले बगाइदियो । लेदै लेदोमा । त्यो पनि सँसाझै । धन्य ! समयमै बाढीको सतह थाहा पाएर उनीहरू भाग्न सफल भए । नभए उनीहरूको ज्यान बच्न मुश्किल हुन्थ्यो ।

‘अब घरबार सबै बगाइहाल्यो । घर भएको ठाउँ हेर्दै चित्त बुझाउनुपर्‍यो’ आफ्नो घर भएको ठाउँ देखाउँदै गायत्रीले इकागजसँग भनिन्, ‘ज्यान बाच्यो भनेर चित्त बुझाएका छौँ । बाँकी त के रह्यो र ?’

गायत्रीले यसो भन्दै गर्दा अनुहार मलिन थियो । आँखामा टिलपिल आँशु आउन थाले । बोली पनि रोकियो । घरी उनी डुबानमा परेको आफ्नो घरथाई रहेको ठाउँतिर हेर्थिन्। घरी टोलाउँथिन् ।

मंगलबार राति उनले बाध्यताले घर छाडेकी थिइन् । रातभर निदाउन सकिनन् । श्रीमान छेउमै थिए । तर उनी एक शब्द बोल्न सकेनन् । छोराछोरी काखमा च्यापेर उनी निदाउन प्रयास गरिन् । तर पनि सकिनन् ।

बाढी आए पनि घर नबगाओस भन्ने उनको चाहना थियो । विपद् कहाँ मनका चाहना राखेर आउँछ त ? बिहानै झिसमिसेमा उनीहरू स्कुलबाट उठेर डाँडामा पुगे । पहिलो नजर आफ्नै घरमा पुग्यो । जहाँ घर थिएन ।

लेदो थियो । पानी थिएन । बाढी थियो । अलि परबाटै पानी पनि बगिरहेको थियो । तर उनको घरलाई अलप गरेर बाढी बगिरहेको थियो । डुबान परिरहेको थियो । उनको शरिर मात्रै डाँडामा थियो । मन आफ्नै घरसँगै बगिसक्यो ।

‘हामीले कसैको केही बिराएका थिएनौँ । कसैलाई हानी पुर्‍याएका थिएनौँ बाबु’ प्राकृतिक प्रकोपटले चोटले विक्षिप्त भएकी उनले भनिन्, ‘खोलाले यसरी बगाउँछ भन्ने थाहा पाएको भए बस्ने नै थिएनौँ । बरु आफ्नै पुरानै घरमा फर्किन्थ्यौँ । तर हामीलाई कसरी यस्तो कुरा थाहा हुन्थ्यो र ?’

गायत्रीसँगै धेरैको सपना मेलम्चीले मंगलबारको बाढीमा बगाएको छ । हेलम्बु, चनौटेबाट वितण्डा मच्चाउँदै आएको बाढीले धेरैको हालत खराब गरिदियो । जति उनीहरूले जीवनमा त्यत्तिको खुशीका लागि संघर्ष गरेका थिए । 

वर्षौ सिरानी हालेर सुतेको मेलम्चीले यसरी घरबाँसै उडाउला भनेर उनीहरूले सायदै सोचेका थिए । मेलम्चीको इन्द्रेश्वरी माध्यामिक विद्यालयमा आश्रय लिएर बसिरहेका सयौँ बाढीपीडित अहिले यस्तै पीडाबाट ग्रुजिएका छन् । 

र, यो पनि 
 

 

 

 


Author

थप समाचार
x