समाज

स्थलगत रिपोर्टः

बाढीको सूचना दिएर बाढीमै डुबेको रेडियो मेलम्चीको कथा

अकोराबले दिएको ल्यापटप र मिक्सरबाट सुरु भयो पुनः प्रसारण

विष्णु विश्‍वकर्मा |
असार ४, २०७८ शुक्रवार १५:१० बजे

मेलम्ची :  अत्यन्त जरुरी सूचना ! 

‘यांग्री नदी फुटेर इन्द्रावती नदीमा बाढी आउँदैछ । सबै जना सुरक्षित भएर बस्नुहोला ।’ 


असार १ गते दिउँसो ३ बजे । रेडियो मेलम्चीले बाढीबारे यसरी पहिलो सूचना दिएको थियो । जुन सिन्धुपाल्चोकको माथिल्लो भेगका एक जनप्रतिनिधिले टिपाएका थिए । 

त्यसबेला स्टुडियोमै थिए, स्टेशन म्यानेजर देवराज सुवेदी । फोनमा पाएको यो जानकारीलाई उनले कागजमा लेखेर सूचना बनाए । अनि त्यही सूचना स्टुडियोमा लिएर पहिले लाइभ पढे । त्यसपछि रेकर्ड गराए । रेडियोबाट प्रसारण हुने समाचार, गीत र कार्यक्रमको बीच बीचमा पनि उनले बाढी आउने बारेको सूचना दिइरहे ।

सूचना बजेको एक घण्टामै बाढी आइपुग्यो । घडीमा अपरान्हको चार बजेको थियो । रेडियोको जग वरिपरी पानी आउन थाल्यो । सूचना दिएर अरुलाई सुरक्षित स्थानमा पठाउने रेडियोकर्मी आफै भाग्नुपर्ने अवस्था आयो । अनि चप्पल लगाएर हतार हतार रेडियो मेलम्चीको स्टुडियो छाडेर रेडियोकर्मी माथि डाँडामा लागे ।

‘बाढी बारे सूचना दिइरहेका थियौँ । बढीमा खोलाको सतह बढ्ला भन्ने अनुमान थियो’ रेडियो मेलम्चीका स्टेशन म्यानेजर सुवेदीले इकागजसँग भने, ‘तर बाढीबारे पहिले आधिकारिक सूचना दिने हाम्रै रेडियो डुबायो । हामीलाई खाली खुट्टा भाग्ने बनायो ।’

इन्द्रावतीमा बाढी आएको थियो । रातीदेखि नै । मंगलबार दिउँसो भने मेलम्ची ठूलो विपद् लिएर आयो । मेलम्ची बजार इन्द्रावती नदी र मेलम्ची खोलाको दोभान हो । मेलम्ची त्यहाँबाट इन्द्रवातीमा मिसिएर बग्छ । दुवै नदी र खोला मिलेर आएको बाढीले मंगलबार मेलम्ची बजारलाई बगरमा परिणत गरे । 

जुन विपद्‍मा मानिसहरूका शव थिए । जो देखिएनन् । केही घर देखिए । केही घरका सामान । मेलम्ची खानेपानी आयोजनाको पाइपको बण्डल बगेर आए । त्यो भन्दा बढी घरभित्र रहेका ग्यास, चुल्हो, दराज पनि मेलम्चीले बगाएर ल्यायो ।

चार बजे आएको बाढीले मेलम्ची रेडियोको पहिलो तला डुबायो । बेलूकीतिर दोस्रो तला डुबायो । हेर्दाहेर्दै स्टुडियो भएको घर बाढीमा डुब्यो । भवन वरिपरीबाट पानी छिर्न थाल्यो ।

स्टुडियोभित्र पानी छिर्दा डाँडामा बसेर हेरिरहेका सुवेदीलगायत रेडियोकर्मीको मनमा चिसो पस्दै गयो । यता रेडियो डुबाँउदै गयो । उता उनीहरूको मनले ठाउँ छाड्दै गयो । विपत्तिका अगाडि उनीहरूको केही लागेन । भए भरको सारा रेडियोको सामान बाढीमै डुब्यो ।

‘हामीले सूचना बजायौँ । तर यसरी बाढी आउँछ भन्ने थाहा पाएको भए सामान साथ्र्यौ’ सुवेदीले थप अगाडि सुनाए, ‘बाढी घरभित्र पसेपछि हतार हतार बाहिर निस्केर भाग्यौँ । स्टेशन आइडीदेखि सबै कागजपत्र रेडियोमै छुट्यो ।’

चन्दा मागेर बनाइएको थियो रेडियो !

काठमाडौँमा पत्रकारिता पढेका सुवेदीले भक्तपुरको नेपाली रेडियोमा काम गरे । जहाँ उनले रेडियो पत्रकारिता सिके । रेडियो पत्रकारितामा आफ्नो मन बसाए ।
त्यसपछि उनलाई लाग्यो, सम्भावना गाउँमै छ । रेडियोको आवश्यकता झन् बढी छ । सूचनाको सानो कुराले पनि गाउँकै मान्छे बढी लाभान्वित हुन्छन् । काठमाडौँमा पत्रकारिताले पेट त पालिन्छ । तर लाभान्वित बस्तीमै पुगेर पत्रकारिता गर्ने रहर पूरा हुँदैन ।

उनलाई आफ्नै बस्ती प्यारो लाग्यो । आफ्नै गाउँघरमा रेडियो खोल्ने रहर बढ्यो । यसै पनि गाउँबाट गाउँमै फर्किने आग्रह बढ्दै गएको थियो । २०६९ सालमा सुवेदीले काठमाडौँ छाडे । मेलम्चीकै एक घरबाट रेडियोको सुरुवात गरे । जसका लागि उनीहरू सरसहयोग मागे । रेडियो सञ्चालक समितिको अध्यक्षमा सरोज ढुंगाना चुनिए ।

सुवेदीले स्टेशन म्यानेजर भएर काम गरे । २०६९ माघ महिनामा उनीहरूले रेडियोको परीक्षण प्रसारण सुरु गरे । त्यसको केही समयमा उनीहरूले रेडियो सञ्चालन गरे । मेलम्ची बजारमा स्टुडियो राखेर उनीहरूले केही अग्लो ठाउँ दुबाचौरमा टावर राखे ।

गाउँमा नयाँ नयाँ रेडियो भएकाले क्रेज बढ्यो । रेडियोमा बोल्नेको आकर्षण बढ्न थाल्यो । बजार विस्तार हुँदै गएकाले विज्ञापन पनि आउन थाल्यो । रेडियोका कर्मचारी पाल्ने र थोरै भए पनि नाफा आउन थालेपछि उनीहरूले भवन बनाउने योजना बनाए ।

यसका लागि चन्दा संकलन गरे । नगरपालिकासँग भवनका लागि आवश्यक जग्गा माग गरे । नगरपालिकाले मेलम्ची बजारकै छेउमा जग्गा दियो । निःशुल्क जग्गा पाएपछि उनीहरुले खोलाकै छेउमा भवन बनाउन सुरु गरे ।

नगरपालिका, अरु स्थानीय तह, उद्योग वााणिज्य संघ, व्यापारी, कर्मचारीले सकेको सहयोग गरे । पाँचहजारदेखि पाँच लाख रुपैयाँसम्म चन्दा उठाएरै उनीहरूले तीन तले भवन बनाएका थिए ।

तर त्यही रेडियो मंगलबारको बाढीले क्षणभरमै डुबायो । अहिले पनि भवन सग्लै देखिन्छ । आधा डुबाए पनि त्यसमा फेरि गएर बस्न मिल्ने हो वा होइन ? त्यो केही दिनमा थाहा हुनेछ ।

भूकम्पपछिको दोस्रो विपद् 

रेडियोका आफ्नै दुःख छन् । जुन कुरा सुन्नेलाई थाहा हुदैन । आवाजको दूनियाँमा हराउनेका लागि रेडियो सदाबहार हो । गीत हो । संगीत हो । जीवन हो । अनि यस्तै प्राकृतिक विपद्को बेला सबैभन्दा धेरै काम आउने सञ्चारमाध्यम हो ।

सबैभन्दा पहिले बाढीको सूचना बगाएको रेडियोले थप सचेतना बढाएर क्षति कम गर्न सहयोग गथ्र्यो होला । तर उनीहरू आफैँ बाढीबाट जोगिन रेडियो छाड्नुपर्ने बाध्यता आइलाग्यो ।

जसकारण उनीहरूले आफ्नो रेडियोकर्मलाइ निरन्तरता दिन सकेनन् । यद्यपि उनीलाई यस्ता विपद्‍बाट उठन बानी पारिसकेको छ । २०७२ सालको भूकम्पले पनि रेडियो मेलम्चीको मुटु हल्लाएको थियो । प्रसारण बन्द भएको थियो । केही दिन उनीहरूको आवाज रोकिएको थियो । तर त्यसबेला हार नखाएका उनीहरूले यतिबेला पनि हार खाएका छैनन् ।

बाढीले ८५ लाखको भवन र ५० लाखको सामग्री बगर बनाइ दिएको छ । लगभग डेढ करोडको लगानी पानी भए पनि पनि उनीहरू नयाँ जोखिम र साहसका साथ मेलम्चीको आवाजको दूनियाँ फर्काउने कोसिसमा छ्न । यसका लागि चाहिने सम्पूर्ण प्रयास पनि सुरु गरिसकेका छन् ।

‘हामीले कोठाबाट रेडियो चलाउन सुरु गरेका थियौँ । विस्तारै घर बनायौँ । भूकम्पले दुःख दिएको थियो’ सुवेदीले रेडियो सञ्चालन र विपद्को सामनाका बारेमा सारमा भने, ‘विपद्को सामना गर्ने र फेरि उठ्ने हाम्रो बानी भइसकेको छ । केही दिन प्रसारण रोकिए पनि चाँडै पुनःप्रसारण सुरु गरिछाड्छौ ।’

एउटा ल्यापटप र मिक्सरबाट पुनःप्रसारण सुरु 

बाढीले मेलम्चीको सबै सपना उडायो । सँगै बगायो रेडियोको आवाज र उपकरण पनि । सामाजिक सञ्जालमा रेडियोकर्मीले सहयोगको हात सुरु गरे । लगत्तै सामूदायिक रेडियो प्रशारक संघ अकोराबले तत्कालै ल्यापटप र मिक्सर उपलब्ध गरायो । जसले गर्दा उनीहरूले कोठाबाटै भए पनि रेडियो सञ्चालन गर्ने निर्णय गरे ।

बाढीले प्रसारण रोकिएको चार दिनपछि शुक्रबार उनीहरूले मेलम्चीकै एक कोठाबाट रेडियोको प्रसारण सुरु गरेका छन् । प्रसारण सुरु भएपछि रेडियो सञ्चालक समितिका अध्यक्ष सरोज ढुंगानाले फेसबुकमा लेखेका छन्, ‘बाढीले रेडियो मेलम्चीको भवन क्षति गरेपछि पनि अस्थायी तवरले रेडियो प्रसारण गरेका छौँ । हामी फेरि मेलम्चीको आवाज बुलन्द पार्दैछौ ।’

उनले रेडियो सञ्चालनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । दुबाचौरमा रेडियोको ट्रान्समीटर र टावर सुरक्षित रहेकाले ल्यापटपबाटै उनीहरूले सानो मिक्सरको सहयोगमा रेडियोको पुनःप्रसारण गर्न सफल भएका हुन् । 

बाढीले पीडा दिएको मेलम्चीबासीको मन मनमा फेरि मेलम्ची रेडियो सुनिएको छ । १०७ दशमलव २ मेगाहर्जबाट ‘जस्तो समाज, उस्तै आवाज’को स्लोगानसहित रेडियो मेलम्ची गुन्जिरहेको छ । सधैँ गुञ्जिरहोस ।  


Author

थप समाचार
x