समाज

बाढीपहिरोले १६ को मृत्यु, दुई हजार विस्थापित

इकागज |
असार ४, २०७८ शुक्रबार २०:२० बजे

काठमाडौँ : पछिल्लो पाँच दिनमा भारी वर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ । अन्य २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा तीन-तीन तथा सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, प्युठान र बाजुरामा एक-एक जना रहेका गृह मन्त्रालयले जनाएको छ । बाढी, पहिरो र डुबानमा परी १६ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीमध्ये १० पुरुष चार महिला र दुई बालिका छन् । 


वेपत्ता २२ मध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा २० जना छन् । बाजुरा र रुपन्देहीमा एक/एक जना वेपत्ता रहेका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ र सल्यानबाट आठ जना गरी १०२ जनाको उद्धार भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै यार्सागुम्बा टिप्न गएका मनाङका ७० जनाको पनि आजै उद्धार भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।

पहिरो तथा बाढीका कारण बन्द भएका विभिन्न स्थानका सडक सुरक्षाकर्मीको सहयोगमा सञ्चालनमा ल्याइएको छ । साथै वर्षाका कारण दार्चुला, हुम्ला, सुर्खेत, कालिकोट, सल्यान, दैलेखलगायतका जिल्लामा पहिरो गई अवरोध भएको सडक खुलाउने प्रयास जारी छ । 

बाढी पहिराका कारण १९९ वटा घरमा क्षति भएको छ । कुल १२ वटा पुल, एक विद्यालय र सात सरकारी कार्यालयमा क्षति पुगेको जनाइएको छ । प्राप्त विवरणअनुसार ५२८ घरका एक हजार ७६० जना मानिस विस्थापित भएको प्रहरी प्रवक्ता कुँवरले बताए । प्रहरीका अनुसार यही बीचमा ५१६ पशु चौपायको मृत्यु भएको छ । बाढी र पहिरोको कारण सिन्धुपाल्चोकका इलाका प्रहरी कार्यालय हेलम्बु र प्रहरी चौकी तालामाराङ स्थानान्तरण गरिएको छ । उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी सक्रिय रहेका छन् । 


Author

थप समाचार
x