समाज

तामाकोशी नदीको बहाव हालसम्‍म पनि स्‍थिर, सतर्कता अपनाउन प्रशासनको अपिल

इकागज |
असार ५, २०७८ शनिबार ९:५५ बजे

फाइल तस्‍बिर

काठमाडौँ : जिल्‍ला प्रशासन कार्यालय दोलखाले हालसम्‍म पनि तामाकोशी नदीको बहाव स्‍थिर रहेको जनाएको छ । दोलखाका सहायक प्रमुख जिल्‍ला अधिकारी बद्रीप्रसाद तिवारीले शनिबार बिहानसम्‍म नदीको बहाव स्‍थिर नै रहेको जानकारी दिए ।

उनकाअनुसार नेपाल-चीन सीमास्‍थित तीनग्री काउन्टीको रोङस्या शहर र आसपासका क्षेत्रमा पानी परिरहेकोले जोखिम भने कायमै छ । जुनसुकै बेला बाढी आउन सक्‍ने जोखिम भएकोले आफूहरू अलर्टमा बसेको उनले बताए । 'हाल तामाकोशीको बहाव स्‍थिर छ,' इकागजसँग उनले भने, सीमा क्षेत्रमा पानी परिरहेकोले जोखिम भने कम भएको छैन । चिनियाँ अधिकारीहरूसँग निरन्‍तर सम्‍पर्क भइरहेको छ । थप केही भएमा खबर गर्ने चिनियाँ अधिकारीहरूले बताउनु भएको छ ।'


रोकिएको भनिएको नदीको बहाव खुले/नखुलेको बारे भने केही जानकारी नआएको उनको भनाइ छ । 'चिनियाँ अधिकारीले हिजो राति नदीको बहाव थुनिएको भन्‍दै म्‍यासेज पठाएका थिए,' उनले भने, 'लगत्‍तै हामीले सूचना जारी गरेर सतर्कता अपनाउन आग्रह गर्‍यौँ । यसबारे थप केही जानकारी आएको छैन ।'

शुक्रबार राति तामाकोशी नदीमा कुनै पनि समय पानीको बहाव बढ्ने भन्दै प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन अपिल गरेको थियो । प्रशासनले खतराको संकेत प्राप्त हुनसाथ सुरक्षित स्थानमा जान र स्थानीय जनप्रतिनिधि तथा सुरक्षा निकायलाई जानकारी गराउन पनि अपिल गरेको छ ।


Author

थप समाचार
x