समाज

‘पत्रिका बन्द गर्ने भनेर श्रमजीवीलाई झुक्याइयो’

इकागज |
असार ५, २०७८ शनिबार १६:१७ बजे

काठमाडौँ : अन्नपूर्ण पोस्ट् दैनिकमा कार्यरत श्रमजीवी पत्रकारहरूले आफूले पाउनुपर्ने तलवभत्ता नपाएको गुनासो गरेका छन् । पीडित पत्रकारको शनिबार भर्चअल पत्रकार सम्मेलन गरेर पत्रिकाविरुद्ध कानुनी संघर्षमा जाने चेतावनी दिएका हुन् । 

अन्नपूर्ण पोस्ट्का पीडित पत्रकारले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,‘अन्नपूर्ण मिडिया हाउसमा काम गर्ने कुनै पनि श्रमजीवी पत्रकारले २०७६ साल चैतयताको तलबभत्ता पाउन सकेका छैनन् । हाम्रो प्रेस पास नवीकरण भएको छैन । हाम्रो तलबभत्ताबाट काटिँदै आएको टी.डी.एस. कम्पनीको तर्फबाट सम्बन्धित कर कार्यालयमा दाखिला गरिएको छैन । तलबमानबाट कट्टा गरिएको सञ्चयकोषको रकम सञ्चयकोष खातामा जम्मा गरिएको छैन ।’ 


सुरुमा तलबभत्ताको भुक्तानीको लागि लिखित अनुरोध पत्र बुझाउँदा पनि श्रमजीवी पत्रकारहरुलाई उपहारस्वरुप राजीनामाको लागि दबाब दिइएको पत्रकारहरूले विज्ञप्तिमा खुलाएका छन् । साथै पीडित पत्रकारहरूले पत्रिका बन्द गर्ने भनेर श्रमजीवीलाई झुक्याइएको आरोपसमेत लगाएका छन् ।

‘पृष्ठभूमिमा पत्रिका बन्द गर्ने सूचना मौखिक रुपमा दिइयो । त्यसलगत्तै २०७७ फागुन २५ गते अन्नपूर्ण मिडिया हाउसका सी.ई.ओ. मानस घिमिरेमार्फत पत्रिका बन्द गर्न लागेकाले सम्पूर्ण श्रमजीवीहरुलाई राजीनामा दिन पुनः दबाब दिइयो’, विज्ञप्तिमा भनिएको छ,‘त्यस समय सम्पादक अखण्ड भण्डारी र अन्नपूर्ण पोस्ट् डककमका सम्पादक विष्णु सुवेदी पनि उपस्थित हुनुहुन्थ्यो । हामीले आधिकारिक सूचना निकाल्न अनुरोध गयौँ । तर, उहाँहरुले बजारमा रकम फसेकाले लिखित सूचना ननिकाली यसैलाई आधिकारिक मान्न आग्रह गर्नुभयो ।’ 


Author

थप समाचार
x