समाज

मृगौला पीडित पत्रकार पत्‍नीको याचना : उपचार मात्रै होइन, खानै धौ-धौ भयो

सृजना खड्का |
असार ६, २०७८ आइतबार ६:५९ बजे

काठमाडौँ : उनको शरीर सुन्‍निएको छ । पेटमा अन्‍न नपरेको १०-१५ दिन भइसक्यो । न बोलचाल गर्छन् न हलचल । 

२०७० साल साउनको महिना थियो । काम गर्दागर्दै साहित्यकार/पत्रकार बी.के पाल्पाली (४६) लाई एक्कासी गाह्रो भयो । अस्पताल लैजादा थाहा भयो, उनको दुवै मृगौला काम नलाग्‍ने भइसकेका रहेछन् । ‘अरुको जीवनमा २०७२ सालमा भूकम्प गयो तर, हाम्रो जीवनमा भने २०७० सालमै ठूलो भूकम्प गइसकेको थियो,’ उनकी श्रीमती रेणुका भट्टराईले भनिन् । 


पाल्पालीको स्वास्थ्य अवस्था पछिल्लो समय झनै जटिल हुँदै गइरहेको छ । रेणुकालाई दैनिक खाद्यान्नदेखि डायलासिस सामग्री जुटाउन धौ-धौ छ । केही समयअघि मात्रै उनले फेसबुकमा लामो स्ट्याटस लेख्दै श्रीमान् मृत्युसँग जुधिरहेकाले सहयोगको लागि अपिल गरेकी छन् । ‘उपचार र खानपानमा मासिक ६० हजार बराबर खर्च लाग्छ,’ उनले इकागजसँग भनिन्, ‘निषेधाज्ञाले बाहिर गएर कमाउने वातावरण पनि छैन । केही महिनादेखि आफैलाई पनि सुगरले च्यापेको छ । त्यसैले मैले सहयोग माग्‍नेबाहेक दोस्रो उपाय देखिनँ ।’
 
रेणुका र बी.केलाई धेरैले ‘हाइकु जोडी’को रूपमा चिन्छन् । २०५९ सालमा विवाह गरेका उनीहरू दुवै साहित्यकार/पत्रकार हुन् । श्रीमानलाई बचाउन सहयोगको अपिल गर्नुपर्दा उनको मन कत्ति पनि खुशी छैन । कहिलेकाहिँ उनी सोच्छिन् – ‘कस्तो पेसा अंगालिएछ ।’ अनि फेरि आफै हार खाए श्रीमानलाई कसरी आड दिने सोचेर आफूलाई बलियो बनाउँछिन् । 

केहीवर्ष पहिला उनले श्रीमानलाई उपचारको लागि भारतको मेदान्त अस्पताल पनि लगिन् । आफ्नै मृगौला श्रीमानलाई प्रत्यारोपण गराउने उनले सोचेकी थिइन् । तर, उनको स्वास्थ्य जाँच गराउँदा उनमा ‘डायबेटिज’ देखियो । जसकारण मृगौला प्रत्यारोपण गर्न मिलेन । उनीहरू यत्तिकै फर्किए ।

‘हाइकु जोडी’का रूपमा चिनिने बी.के र रेणुका दुवै विरामी छन् । श्रीमानका दुवै मृगौलाले काम गर्दैनन्, श्रीमतिलाई सुगर भएको छ ।

२०७३ सालदेखि पाल्पाली डायलासिसकै भरमा बाचिरहेका छन् । ‘अहिले त किड्नी फेरे पनि त्यो किड्नी काम लाग्दैन भनेर डाक्टरहरूले भनेका छन्,’ रेणुकाले भनिन्, ‘अब त उहाँको उपचार भनेकै डायलासिस हो ।’ 

उनीहरूका १७ वर्षीया छोरी र ४ वर्षीय छोरा छन् । ‘बाहिर कोभिडले निषेधाज्ञा छ, हाम्रो घरभित्र भने तनाब र अभाव छ,’ रेणुकाले भनिन्, ‘यो निषेधाज्ञाले हाम्रीजस्तो दीर्घरोगी भएको परिवारलाई निकै पिरोलेको छ ।’

मृगौलाको औषधिले पाल्पालीको दुवै ‘हिप बोन’ (कम्मरको हड्डी) खराब भएको छ । उनी हिँडडुल गर्न सक्दैनन् । बिहानदेखि बेलुकासम्म उनी रेणुकाकै सहारामा चल्छन् । भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको थियो । अहिले कोभिडका कारण रेणुकाले पाल्पालीलाई त्यहाँ पनि लैजान सकेकी छैनन् ।

‘कोरोनाको डरले उपचार गर्न अस्पताल लैजाने आँट छैन,’ उनले भनिन्, ‘घरमै राखेर डायलासिस गराइरहेको छु । तर, सरकारले निःशुल्क दिने डायलासिसको सामान पनि सप्लायर्सले मुल्य बढेको छ भनेर महिनाको १० हजार रुपैयाँ लिन्छ ।’

बी.केका हाइकु संग्रह घायल वर्तमान र चार्लीको चिठी, कवितासंग्रह पेस्तोलभित्रका गोलीहरूलगायत १३ वटा कृति प्रकाशित भएका छन् भने रेणुकाका तीन ओटा कृति प्रकाशित छन् । 

भक्तपुर, सिपाडोलमा बस्ने उनीहरूले २०५९ सालमा विवाह गरेका थिए । साहित्यसँगै पत्रकारितालाई अगाडि बढाउने उद्देश्यले उनीहरूले २०६२ सालमा ‘नेपाल बोर्डर’ नामक पत्रिका सुरु गरेका थिए । दाहाल यज्ञनिधिले चलाउने रेडियो कार्यक्रम ‘जदौ’ मा उनीहरूलाई नमुना जोडीको रूपमा सुन्‍न पाइन्थ्यो । 


 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x