समाज

स्वास्थ्यकर्मी कुटपिट घटना : आरोपी धरौटीमा छुटे

इकागज |
असार ६, २०७८ आइतवार १९:४२ बजे

बुटवल  : नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिटको आरोप खेपेका दाङका तीन जना जनही २५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । 

जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले अस्पतालमा कुटपिट गरेको आभियोगमा थुनामा रहँदै आएका नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दाङ तुलसीपुरका मानबहादुर रावतसहित भरत रावत र लोकराज रावतलाई जनही २५/२५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो। 


बाँके जिल्लाका अदालतका श्रेस्तेदार तीर्थ भट्टले तोकिएको धरौटी बुझाएर तीनै जना आइतबार नै रिहा भएको जानकारी दिए। 

गत जेठ १३ गते बेलुकी ८ बजे तुलसीपुर उपमहानगरपालिका-११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको कोरोनाका कारण मृत्यु भएपछि उनीहरूले उपचारमा लापरबाही भएको भन्दै त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि कुटपिट तथा तोडफोड गरेका थिए। 

अस्पतालका डाक्टर र नर्सहरू आक्रमणको विरोधमा आन्दोलनमा उत्रिएपछि सोही दिन राति प्रहरीले उनीहरू तीन जनालाई पक्राउ गरी थुनामा राख्दै आएको थियो।


Author

थप समाचार
x