समाज

महामारीमा विदेशिनेको बाध्‍यता

मौकामा चौका हान्‍दै एयरलाइन्स : वैदेशिक रोजगारीमा जाने श्रमिकलाई ठगेर करोडौं कमाउँदै

पर्यटन मन्त्रालय भन्छ : बढी भाडा लिएको थाहा छैन

अतिन आचार्य |
असार ७, २०७८ सोमबार ११:४७ बजे

काठमाडौँ : सरकारले नियमित अन्तर्राष्ट्रिय उडान नखुलाउँदा नेपाली श्रमिक महँगो भाडादरमा वैदेशिक रोजगारमा जान बाध्य छन् । पछिल्लो समय कोभिड-१९ को दोस्रो लहर फैलिएसँगै अन्तर्राष्ट्रिय उडान बन्द भएको थियो ।

नियमित उडान सुचारु हुन केही दिन बाँकी रहदा चार्टडको नाममा वैदेशिक रोजगारमा जानेहरू ठगिइरहेका छन् । साउदी जान कामदारले चार्टड उडानमा जानका लागि टिकट पनि काटिसकेका छन् ।


चार्टड उडानका लागि टिकट बुक भइसकेकाले नियमित उडान सुचारु गर्न सरकारले आनाकानी गरिरहेको छ । चार्टड उडान सोमबार (आज), बिहीबार र शनिबार रहेको छ । उडानका लागि सबै टिकट बुक भइसकेका छन् ।

होटल क्वारेन्टाइन र पीसीआर परीक्षण गर्ने भन्दै चार्टड उडान कम्पनीका एयरलायन्सलले यात्रुबाट मँहगो भाडा लिने लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणकै मिलेमतोमा हिमालयन एयरलायन्सलाई चार्टड उडानका लागि अनुमति दिएको छ।

नागरिक उड्डयन प्राधिकरणले चार्टड नियमन गर्न नसक्दा पनि वायुसेवा कम्पनीले आफू खुसी भाडा तोक्ने गरेका छन् । प्राधिकरणले वायुसेवा कम्पनीलाई बढी भाडा नलिन आग्रह गर्दा पनि टेरेका छैनन् । त्यसको प्रत्यक्ष मारमा नेपाली कामदार परिरहेका छन् ।

सरकार कमजोर र लाचार बन्दा नेपाली कामदारले एक लाख ७० हजार रुपैयाँ तिरेर विदेश जान बाध्य छन् । निषेधाज्ञा लम्बिएपछि साउदी जानेहरूका लागि सरकारले चार्टड अनुमति गर्न अनुमति दिएको थियो । सरकारले चार्टड उडानको अनुमति दिए पनि कामदारका लागि भाडादर नतोकिएकाले टिकटमा चर्काे मूल्य तिरिरहेका छन् । एउटा चार्टड उडानबाट वायुसेवा कम्पनीले तीन करोड रुपैयाँ कमाइ  गरिरहेको छ । 

निषेधाज्ञा लम्बिँदा हिमालय एयरलायन्सलाई लाभ भएको छ । नियमित उडान खुले कामदारले  ४० हजार रुपैयाँ तिरेर जान सक्थे । कोभिड महामारी सुरु भएसँगै कामदारहरू हवाई टिकटको भारी मूल्य तिरेर विमानस्थलमा लामबद्ध अवस्थामा देख्‍न सकिन्छ ।

'पीडितले प्रहरीमा उजुरी गर्न सक्छन'

शनिबार बिहान पौने ११ बजे (५ गते) मात्र १८० जना यात्रु लिएर हिमालय एयरलान्सको जहाज गयो । सबै यात्रुले डेढ लाख रुपैयाँभन्दा बढी रकम तिरेका थिए । याे भनेकाे नियमित भाडादर भन्दा चाैबर हो । तर सरकारलाई कामदारले कति भाडा तिरिरहेका छन्,त्यसको जानकारी छैन । कुनै पनि एयरलायन्सले उडान समयमा लाग्ने भन्दा बढी पैसा लिएको थाहा पाएमा कारबाही गरिने पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारी बताउँछन् ।

'बढी भाडा लिएमा कालो बजारीअन्तर्गत कारबाही गरिन्छ,' उनी भन्छन,' सचेत नागरिकले बढी भाडा लिएमा प्रहरीमा उजुरी गर्न सक्नेछन् ।' कुन एयरलायन्सले कति भाडा लिएको छ त्यो विषयमा मन्त्रालयललाई थाहा नभएको उनको भनाइ छ ।

मन्त्रलायलले कुनै पनि चार्टडका लागि अनुमति नदिएको अधिकारीले जानकारी दिए । मन्त्रिपरिषदबाट चार्टड उडान खुलाएकाले एयरलायन्सलले अवसर पाएको उनले बताए । नेपाली कामदार भएको ठाउँमा नियमित अन्तर्राष्ट्रिय उडान खुलाउने सरकारले निर्णय गरिसकेको उनले जानकारी दिए ।

पछिल्लो समय साउदी अरबका लागि चार्टड उडानको अनुमति पाएको हिमालय एयरलयान्सले भारतीयदेखि नेपाली कामदार लाने अवसर पाएको छ । अन्तर्राष्ट्रिय उडान बन्द भएदेखि हिमालयन एयरलान्यसले साउदीको उडान भर्ने अनुमति पाएको हो ।

'क्‍वारेन्टाइन सहितको मूल्य लिएकाले बढी भाडा'

चार्टड उडानबाट नेपाली कामदार निजी कम्पनीको विमानबाट महँगो भाडा तिरी गन्तव्य मुलुक गइरहेका छन् । कामदारले साउदी अरबमा पुग्दा होटल क्वारेन्टाइनमा बस्नपर्ने भएकाले  बढी मूल्य पर्न गएको हिमालयन एयरलायन्सका प्रबन्ध निर्देशक विजय श्रेष्‍ठ बताउँछन् । क्वारेन्टाइनमा अनिवार्य बस्ने सर्त भएकाले सम्पूर्ण जिम्मा एयरलायन्सले लिएर भाडा लिएको उनको दाबी छ ।

'सामान्य अवस्थामा साउदीको भाडा ४० हजार लिएका छौ,' श्रेष्‍ठ भन्छन,' ग्लोबली नेटवर्किङको टिकेटिङ्को मूल्यअनुसार भाडा लिन पाइन्छ ।' चार्टड उडानमा कामदारको पीसीआर परीक्षण र होटल बस्दाको मूल्य तिर्नुपर्ने भएकले मँहगो पर्ने गएको उनले बताए । क्वारेन्टाइका लागि ९० हजार लिने गरेको उनको भनाइ छ ।

'वायुसेवा कम्पनीले टेरेनन'

चार्टड उडान कम्पनीलाई बढी भाडा नलिन बारम्बार आग्रह गर्दा पनि वायुसेवा कम्पनीले नटेरेको नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक भोला गुरागाई बताउँछन् । प्राधिकणले विमानस्थल भित्रको सुरक्षा र नियमन गर्ने अधिकार पाएकाले भाडाको विषयमा केही बोल्न नसक्ने अवस्था रहेको उनले बताए ।

'सरकारले गरेको निर्णयमा हामीले हस्तक्षेप गर्न मिल्दैन,' गुरागाई भन्छन,' नियमित उडान सुचारु भएपछि चार्टड उडान बन्द हुन्छ ।' नियमित उडान सुचारु भएपछि सहज हुने उनको भनाइ छ ।

शनिबारको चार्टड उडानमा साउदी पुगेका भोजपुरका रमेश भण्डारीले क्‍वारेन्टाइनका लागि ८३ हजार तिरे । उनीसँग साउदीको टिकट भएकाले बढी मूल्य तिर्नुपरेन । 'सँगै जहाजमा आएका अन्य साथीले एक लाख ७० हजार सम्म तिरेर आएका छन,' उनले इकागजसँगको संवादमा भने। 'नेपालबाट आएका सबै कामदारलाई होटल क्‍वारेन्टाइनमा राखिएको छ,'उनले भने,' दुई पटक पीसीआर हुन्छ । पहिलो परीक्षण  आएको भोलिपल्ट भयो र दोस्रो साता दिनमा हुनेछ ।'


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x