समाज

हिउँदमा चुपचाप, बर्खामा भागाभाग

इकागज |
असार ७, २०७८ सोमबार १३:१७ बजे

फाइल तस्‍बिर

बलेवा : असारको पहिलो दिन नै घरमा बस्न नसक्ने गरी वर्षा भयो । घर वरिपरि छियाछिया परेको जमिन छ । आधा भत्केका घर गाउँभरी छन् । गत वर्षको वर्षामा भत्किएको जमिन कहिँ टालिएको छैन । न जोखिममा परेका घरको व्यवस्थापन भयो । विस्थापित भएका गाउँ छाडेर हिँडे । अरु अवस्था उस्तै छ । समस्या हो बागलुङको निसीखोला गाउँपालिका–१ र २ नम्बर वडामा पर्ने हुल्दी बाहुन गाउँको । 

पोहोर पानी पर्दा लत्ता कपडा र खाद्यान्न पोको पारेर घर छाडेका हुल्दीबासीले अहिले पनि उहीँ भोग्दै छन् । पहिरो पीडितलाई समयमा व्यवस्थापन गर्न नसक्दा अहिलेको वर्षामा उनीहरू घर न घाटका हुने अवस्था आएको हो । घरगाउँ नै मासिने गरी पहिरो गएको भए पनि कोही कसैले सहयोग नगरेको स्थानीय पूर्ण कार्की बताउनुहुन्छ । हुल्दी र बाहुनगाउँमा गएको पहिरो नयाँ भने होइन ।


केही वर्ष पहिलेदेखि चलेको पहिरोले गतवर्ष सबैभन्दा धेरै क्षति पुर्‍याएको छ । निसीखोला–१ मा २७ घर पूर्ण क्षति भएका थिए । एक हजार ५०९ घर उच्च जोखिममा छन् भने ७५ घर जोखिममा रहेको तथ्याङक गाउँपालिकासँग छ । वडा नं. २ मा ५९ घर पूर्ण क्षति, उच्च जोखिममा १९ घर र जोखिममा १५० घर रहेको तथ्याङ्क छ । वडा नं. ३ मा १० घर पूर्ण क्षति र उच्च जोखिममा २५ घर छन् ।

गाउँपालिकाभरि नै वर्षापछि पहिराको समस्या भए पनि स्रोत साधनको अभावले व्यवस्थापन चुनौतीपूर्ण रहेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए। हिउँदमा चुपचाप बस्ने र वर्षा लागेपछि चिन्ता गर्ने परिपाटीले बस्ती स्थानान्तरण र व्यवस्थापन हुन नसकेको निसीखोला–२ का वडाध्यक्ष कुम्बीर विश्वकर्मा बताउँछन् । दुई वर्षअघि भूगर्वविद मनिका झाको नेतृत्वको टोलीले गाउँलाई रातो सूचीमा राखेर बस्ती सार्न भनेको थियो । 

बस्ती स्थानान्तरणका लागि कोही कसैले तदारुकता देखाएका छैनन् । हुल्दी र बाहुनगाउँमा लामो समयदेखि बस्दै आएका खेतीपाती र वनपाखो छाडेर हिँड्न नमानेका कारण पनि बस्ती स्थानान्तरणमा समस्या रहेको गाउँपालिका अध्यक्ष पौडेलको भनाइ छ । 

यस्तै गतवर्ष भदौ २९ गतेको पहिराले गाउँ नै हल्लाएको महसुस गरेका जैमिनी नगरपालिका–१ कुश्मीशेराका कृतिनाथ शर्मा यस वर्ष घरमा बस्नै नसकेर असारको १ गते राति घर छोडे । चितवनको रत्ननगर नगरपालिकामा भाडाको घर खोजेर उहाँ बसाइ नै सर्नुभयो । गत वर्ष दुई जनाको ज्यान लिने गरी आएको पहिरो उनको घरमाथि आएको छ । 

पहिराको व्यवस्थापन नभएका कारण जीवनभर कमाएर परिपाठ पारेको घर बुढेसकालमा छाड्नुपरेको उनको गुनासो छ । 'पहिरो रोक्न र भल बाढी तर्काउन कसैले चासो देखाएनन्', शर्मा भ्‍छन् 'एक्लैले गरेर नहुने रहेछ, विपत्मा ज्यान जोगाउनु नै ठूलो कुरा भयो ।' शर्मा जस्तै टुनिबोटका छ परिवारले यस वर्षको बर्खा लागेपछि पहिराको त्रासले घर छाडे । केहीले छाड्ने तयारी गर्दैछन् । हिउँदभर पहिराको रोकथाम र पीडितको व्यवस्थापन नभएपछि टुनिबोटबासी वर्खा लागेपछि भागाभाग गर्न थालेका हुन् ।

समस्या निसीखोला र जैमिनीको मात्रै होइन गत वर्ष बाढी पहिराका कारण विस्थापित भएका ढोरपाटन नगरपालिकाका झण्डै १३० परिवारको पनि अवस्था उस्तै छ । तमानखोला, काठेखोला, जैमिनी नगरपालिका र गलकोट तथा बरेङ गाउँपालिकामा विस्थापित भएका घर बनेका छैनन् ।
 


Author

थप समाचार
x