पहिरो र कटानले बेनी-जोमसोम सडक चार ठाउँमा अवरुद्ध
म्याग्दी- उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्ड कम्तीमा चार ठाउँमा पहिरो र कटान जाँदा आवागमन अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्ला, अन्नपूर्ण गाउँपालिकाको पुरै र रघुगङ्गा गाउँपालिकाको छवटा वडामा यातायात सञ्चालन हुन सकेका छैनन् ।
बेनी-जोमसोम सडक आयोजनाका सबइञ्जिनियर सोहनजङ्ग कार्कीका अनुसार रघुगङ्गा गाउँपालिकाको राहुघाट, बैसरी, सिरुवारी र कालीओडारमा पहिरो र कटानका कारण सडक अवरुद्ध बनेको छ । 'अन्नपूर्णको रुप्से, गुइठेभिर, भिरकाटे र दोवाखोलाको पहिरो पन्छाएर यातायात सञ्चालन भएको छ,' उनले भने, 'कालीओडार, सिरुवारी र बैसरीमा पहिरो पन्छाउन सडक विभागको डोजर, लोडरलगायत उपकरण, प्राविधिक जनशक्ति र मजदुर परिचालन भएका छौँ ।'
बेनी-जोमसोम सडकको प्रवेशविन्दुमा पर्ने रघुगङ्गा-३ गायत्री मन्दिर नजिकै रघुगङ्गा नदीले कटान गरेर भासिएको सडक मर्मत गर्न केही समय लाग्ने सबइन्जिनियर कार्कीले बताए । 'भिर काटेको पहिरोबाहेक अन्य पहिरो बेनी-जोमसोम सडकमा हरेक मनसुनमा दैनिक झरिरहने नियमित र अति जोखियुक्त पहिरो हुन्,' उनले भने, 'सडक अवरुद्ध हुँदा रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक, तिर्थयात्रीहरूलाई समस्या भएको छ ।'
सडक अवरुद्ध हुँदा निर्माणाधीन जलविद्युत्, प्रसारण लाइन, सडकलगायत विकास आयोजना प्रभावित भएका छन् । म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका किसानले उत्पादन गरेको आलु बजार पठाउन समस्या भएको छ ।
पहिरोले पोल ढलाएपछि अन्नपूर्ण गाउँपालिकाका अधिकांश वडामा विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन कष्टकर बनेको अन्नपूर्ण-६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए ।
यसैबीच फापरखेत र बाङ्गेपहिरोमा अवरुद्ध म्याग्दीको पश्चिमी क्षेत्रका धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडक खुलाउन डोजर परिचालन गरिएको जिल्लास्थित पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
बाढीपहिरोले कल्भर्ट बगाउँदा सडक अवरुद्ध
बिहीबार रातिको भीषण वर्षाका कारण तनहुँका विभिन्न ग्रामीण सडकखण्ड अवरुद्ध भएका छन् । विभिन्न खोलामा आएको बाढीपहिरोका कारण जिल्लाका विभिन्न ठाउँका सडकखण्ड अवरुद्ध भएका हुन् । बाढीपहिरोले केही ठाउँमा कल्भर्ट बगाएको छ ।
व्यास नगरपालिका-११ पुरनडिहीस्थित राम्दी खोलामा बाढीले दुईवटा कल्भर्ट बगाउँदा सडक अवरुद्ध भएको छ । उक्त सडक हुँदै सोही वडाको फराकचौर, बेल्टारी, शेरासम्मको आवागमन ठप्प भएको छ ।
भानु नगरपालिका-५ टुहुरेपसलस्थित खत्रीखोलामा आएको बाढीले कल्भर्ट बगाउँदा डुम्रे-चन्द्रावती खण्ड अवरुद्ध भएको छ । खत्रीखोलामा आएको बाढीले ह्युमपाइप बगाएपछि भानु-१२, १३, ६ र ७ मा सञ्चालित सवारीसाधन रोकिएका वडाध्यक्ष धिरज खनालले जानकारी दिए । उनले भने, 'भानुको उत्तरी भेग १२ र १३ को ‘लाइफलाइन’का रूपमा रहेको यस ठाउँको कल्भर्ट बगाउँदा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको छ ।'
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीओडार, व्यास-१२ घाँसीकुवा, बन्दीपुर गाउँपालिका-५ याम्पालगायत ठाउँमा गएको पहिरो भने पन्छाएर पृथ्वीराजमार्ग पूर्णरूपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया